Breaking

माधवको पेलान झेलेका घिमिरेलाई ओलीको उपहार, गुमनाम घिमिरे कसरी बने सिधै सभामुख ?


काठमाडौँ — नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन् । पार्टीभित्र इमान्दार, सादकी र वौद्धिक नेताको छवि बनाएर पनि संधै छाँयामा पर्दै आएका घिमिरे संसद पहिलो यात्रामै सभामुख बन्न सफल भए । पार्टी अध्यक्ष ओलीको आर्शिवाद पाएसँगै सदनको सभामुखमा निर्वाचित भएका घिमिरे को हुन् त । सभामुखमा निर्वाचित नेकपा एमाले नेता सांसद देवराज घिमिरे झापा दुईबाट निर्वाचित भएका हुन् । गत मंसिर चार गते सम्पन्न संसदीय निर्वाचन मार्फत पहिलोपटक संसद छिरेका घिमिरे पहिलो प्रयासमै सभामुख बन्न सफल भए ।

नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुखमा निर्वाचित भएका हुन् । २०४८ सालमै मदन भण्डारीले चुनाव लड्न गरेको आग्रह अस्वीकार गरेका घिमिरे ३१ वर्षपछि पहिलो प्रयासमै सांसद हुँदै सदनको सभामुख बनेका हुन् । पाँच दशक लामो राजनीतिक अनुभव बटुलिसकेका पदिय लोलुपतामा कहिल्यै लिप्त नहुने इमान्दार बामपन्थी नेताको छवि बनाएका घिमिरे संसदीय राजनीतिमा एमालेभित्रै नयाँ भए पनि पार्टीभित्रको वरियतामा भने अहिलेका अधिकांश पदाधिकरीभन्दा सिनियर नेता हुन् । उनको यो राजनीतिक योगदानलाई सत्ता गठबन्धनमा रहेका दलले पनि मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

२०४८ सालमा चुनाव लड्न नमानेका कारण संसदीय भूमिकामा पछि परेका घिमिरे २०५६ सालमा राष्ट्रियसभा सदस्य समेत भईसकेका छन् । तत्कालिन समयमा पार्टीभित्रको गुटगत प्रभावको शिकार बनेका अझ प्रष्ट भन्दा माधव नेपालको एकल दबदबा र ओलीनिकट भएका कारण पनि उनी पछि परेका थिए । पार्टीको डाडु पनेउ ओलीको हातमा आएपछि उनले आफ्नो सक्रियता थप बढाए । अन्तत पार्टी अध्यक्ष ओलीकै प्रत्यक्ष निगाहामा सभामुख बन्ने सौभाग्य जु¥यो । २०७१ सालको नवौँ राष्ट्रिय महाधिवेशनपछि नेकपा एमालेको अध्यक्षमा केपी ओली निर्वाचित भएपछि उनको अवसरको ढोका खुल्दै गयो ।

ओलीकै रोजाईमा उनले २०७४ मा सचिवालय प्रमुख भएर काम गर्ने मौका पाए । २०७५ एमाले र माओवादीबीच पार्टी एकता भइ बनेको नेकपाको प्रदेश १ को अध्यक्ष भए । ०७८ मा भएको एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य भए । पार्टीका प्रदेश नम्बर १ का पार्टी इञ्चार्ज समेत हुन् । एमालेबाट सभामुखका लागि राष्ट्रिय राजनीतिमा स्थापित नेताहरु रघुजीपन्त, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, विद्या भट्टराई आकांक्षी भए पनि झापाको र ओलीको अति विश्वास पात्र घिमिरे सभामुखमा बाजी मारे ।

घिमिरे वि.सं. २०१३ साल जेठ १३ गते ताप्लेजुङको श्रीजंगा गाउँपालिका–३ मा जन्मेका हुन् । गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट विद्यालय शिक्षा प्रारम्भ गरेका उनीले ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाई स्कुलबाट ०२९ सालमा एस.एल.सी उत्तीर्ण गरेका हुन् । धरानको महेन्द्र बहुमुखी क्याप्पस आइ.ए. र काठमाडौंको त्रि–चन्द्र कलेजबाट स्नातक अध्ययन गरेका छन् । उनी एमालेमा कम अवसर पाएका नेतामध्येका एक, इमान्दार, सादकी र वौद्धिक नेताका रुपमा चिनिन्छन् ।

जे होस् उच्च ओहोदा र पदका लागि पार्टी अदलाबदला हावी भएका बेला निष्टाको राजनीति गरे एक दिन सफल हुन्छ, अवसर पाइन्छ भन्ने उदाहरण घिमिरेको सफलताको सिद्ध गरिदिएको छ । राजनीतिमा इमान र धैर्यता जरुरी छ भन्ने सिद्धान्त समेत चरितार्थ भएको छ ।