Breaking

ओली–देउवा आमने–सामने, माधवसँग बाझाबाझ, सभामुख गुमाएर राष्ट्रपति पड्काउने काँग्रेस दाउ, प्रचण्ड दोधारे


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बलमा सभामुख हत्याउने तयारी गरेको काँग्रेसले अब राष्ट्रपति नछोड्ने दाबी गरेको छ । यसका लागि सत्ता गठबन्धनभित्र खेल्न उसको नीति रहेको छ । मंगलबारको सर्वदलीय बैठकमा नेपाली काँग्रेसका वरिष्ठहरुलाई छोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीकनिष्ठसँग भिड्न पुगे । काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठनेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्का सहभागि हुँदाहुँदै ओलीको जवाफ दिन रमेश लेखक अघि सरेपछि एकछिन उठाउठकै अवस्था बनेको थियो ।ओलीले काँग्रेसको भूमिकामाथि प्रश्न उठाएर सत्ताका लागि नखेल्नुस्, खुरक्क प्रतिपक्षमा बस्नुस् भनेपछि लेखक ओलीको प्रतिवादमै उत्रिएका थिए ।

लगत्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालतिर ओलीको नोकझोक स¥यो । ओलीले राष्ट्रपतिमा प्रचण्ड र आफुबीच सहमति भइसकेको दाबी गरेपछि माधव सहमति भएको भए हामीलाई किन बोलाएको भन्दै ओलीसँग कड्किए । साझा सहमतिका लागि प्रधानमन्त्री प्रचण्डले आह्वान गरेकोसर्वदलीय बैठकमा आएको भन्दै तपाईँले भनेको किन मान्ने भन्दै माधव ओलीमाथि खनिएपनि ओलीले उनको सवालको जवाफ नदिएर वेवास्ता गरेका थिए । लगत्तै ओली भड्किएर बैठकबाट निस्किएपछि विथोलिएको माहोललाई सुधार्न प्रधानमन्त्री प्रचण्डले कुनै आयादाया नगरी सभामुखमा एमालेका देवराज घिमिरेलाई समर्थन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको समर्थन जुटाएर सभामुखमा बाजी मार्ने नीतिमा रहेको काँग्रेस सर्वदलीय बैठकपछि पछि हटेको छ । सत्ता साझेदार दल, त्यसमा पनि प्रधानमन्त्री प्रचण्डबाट भरथेक समर्थन नपाएपछि गठबन्धनमा खेलेर ओली एक्ल्याउने दाउमा रहेको काँग्रेस हात लाग्यो शून्यकै अवस्थामा सभामुखमा आफ्नै उम्मेदवार उठाउन बाध्य बनेको छ । किनकि प्रधानमन्त्रीले साझा सहमतिको कुरा गरेपनि एमाले अध्यक्ष ओलीका बलमा सम्भव भएको छैन । ओली पनि राप्रपाका लिङ्देन र स्वतन्त्र पार्टीका रवि लामिछानेलाई महत्वपूर्ण मन्त्रालय दिएर प्रचण्डमाथि दबाब बढाइरहेका छन् ।तर विहिबार नै सभामुखको निर्वाचन हुने भएकाले सत्तागठबन्धनमाथि खेल्न काँग्रेसले अझै समय पाएको छ ।

माओवादीको समर्थन नपाएकै कारण काँग्रेसले सभामुख गुमाउने पक्कापक्की जस्तै छ ।तथापी सत्ता गठबन्धनभित्र माछो हात नपरेपछि देउवा विपक्षी गठबन्धनको कसरतमा छन् । नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्तिलाई साथमा लिएर विपक्षी मोर्चा कस्ने काँग्रेसको तयारीले सत्ता गठबन्धनमा अझै दबाब दिनेछ । राष्ट्रपतिको निर्वाचनसम्म प्रधानमन्त्रीले खेल्ने भूमिकालाई सुक्ष्म निगरानी गरिरहेको काँग्रेस त्यतिनै बेला पासा पल्टाउने तयारीसमेत गरेको छ । फलतः काँग्रेसले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपति बन्ने आत्मविश्वाससमेत काँग्रेसमा पलाएको छ ।

राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्री बन्ने प्रचण्ड मोहले काँग्रेस र एमाले भने अब आमने–सामने भएका छन् । प्रचण्ड दुवैलाई भिडाएर मझधारको माझी बन्ने र आफु नभई कतैपनि बहुमत पुग्न नदिने खेल खेलिरहेका छन् । यसले प्रचण्डलाई सत्तामा टिक्न सजिलो हुनेछ भने ओलीको दबाब झेल्न पनि बल पुग्नेछ । तर सभामुख र राष्ट्रपतिको निर्वाचनमा माओवादीको भूमिकाले आगामी राजनीतिक भविष्यलाई कित्ता क्लिएर बनाउने छ ।