Breaking

रवि–राजेन्द्र रडाको, ठेकेदार र एजेन्ट मन्त्री, राजाको मुद्धाले मुर्छा खायो, नयाँको चर्तिकला डरलाग्दो


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा पुरानाभन्दा धेरै नयाँ अनुहार मन्त्री बनेका छन् ।तर नयाँमाथि विश्वास बढीरहेका बेला राजेन्द्र लिङ्देनदेखि म्यानपावर व्यवसायी डोलप्रसाद अर्यालसम्म प्रश्न उठेको छ । अब चोरलाई साधु बनाउने कि, चोरको चाकरी गर्दै आफै पनि चोर बन्ने ?जिम्मा लिङ्देनकै काँधमा परेको छ । गत बर्षको मंसिर २४ मा नेपाली काँग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेतालाई चोर भन्दा तालीको बर्षा पाएका थिए । अब उतिबेलाका चोरहरु लिङ्देनका सारथी बनेका छन् ।सरकारमा जानु हुँदैन भन्ने मतलाई समेत मतलब नगरी लिङ्देन उपप्रधानसहित उर्जामन्त्री बनेपछि राप्रपाको सिद्धान्तले मुर्छा खाएको छ नै राजसंस्था पुनःस्थापनाको मुद्धा पनि गफमै सीमित बनेको छ । तैपनि लिङ्देनले सरकारमा जानुको औचित्य पुष्टि गरेरै छोड्ने अठोट देखाएका छन् ।

नेतालाई जनताले चोर भन्दैनन् भन्ने प्रचण्ड प्रधानमन्त्री छन्, नेता चोरकै रुपमा चिनिन्छ भन्ने लिङ्देन उपप्रधानमन्त्री बनेका छन् । राजसंस्थाको सबैभन्दाधेरै विरोध कसैले गर्छ भने, त्यो प्रचण्ड नेतृत्वको माओवादी हो । अब लिङ्देनहरु प्रचण्डकै सरकारमा सहभागि भएपछि राजसंस्था फर्किहाले पनि गणतन्त्रमा मन्त्री बनेका लिङ्देनहरुका कारण फर्किनेछैन भन्ने ढुक्क भएको छ । तर सबैभन्दा ठूलो गल्ती लिङ्देनले मन्त्री छनोटमा गरेका छन् । विकासका ठेक्का अलपत्र पार्ने ठेकेदार विक्रम पाण्डेलाई सहरी विकासमन्त्रालयको चाँबी बुझाएपछि अब राप्रपाले सरकारमा गएर कस्तो सुशासन दिन्छ हेर्न पाइने भएको छ ।

किनकि पाण्डे तीनै ठेकेदार हुन्, जसको कम्पनी कालिका कन्ट्रक्सनले सिँक्टा सिचाइँ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्धा चलाएको थियो । पछि ४ करोड धरौटीमा पाण्डे रिहा भएका थिए ।उनको कम्पनीले राज्यको २ अर्ब १३ करोड ७६ लाखभन्दा धेरै रुपैयाँ गायब बनाईदिएको छ । उनै पाण्डेले ठेक्का पाएको बागमति करिडोरको काम पनि अलपत्र परेको छ । अब त्यसको पदेना अध्यक्ष पनि पाण्डे नै भएपछि धेरै कुरा नबोलेरै बुझ्नुपर्ने भएको छ । र राप्रपा अध्यक्ष लिङ्देनको नारा ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सामना’ होकि ‘भ्रष्टाचार गर्नु आमाको दुध खानु समान हो’ छुट्टयाउनै मुस्किल परेको छ ।

लिङ्देनकै जस्तो बेइमानी, नयाँ छु केही नयाँ गर्छु भनेका गृहमन्त्री रवि लामिछानेले पनि गरेका छन् । कुनैबेला ५÷५ जना उपप्रधानमन्त्री किन चाहियो यत्रो सानो देशमा, क्यारेमबोर्ड खेल्न हो भन्ने रवि अहिले चारमध्येका एक उपप्रधानमन्त्री हुन् । सरकारमा गएर ठिकै काम गरेपनि मेनपावर व्यवसायीलाई श्रममन्त्रीको साँचो बुझाएर रविले नेपालीमाथि परोपकार गरेका छन् । उनले श्रममन्त्री बनाएका डोलप्रसाद अर्याल सृष्टि ओभरसिजका अन्तर्राष्ट्रिय बजार निर्देशक हुन् ।

छ महिनाअघिसम्म नेपालीहरुबाटै चर्काे असुली गर्दै विदेश पठाउने काममा संलग्न डोलप्रसादलाई रविले पार्टीको उपसभापति हुँदै निर्वाचितलाई पन्छ्याएर समानुपातिकबाट छिरेकाएजेन्टलाई मन्त्रीसम्म बनाएपछि अहिले चर्काे विरोध भइरहेको छ । तर विरोध सुरु भएलगत्तै डोलप्रसाद निर्देशक रहेको म्यानपावरले बेबसाइट नै बन्द गरेको छ ।उनी कुनै बेला रवि लामिछाने ब्राण्ड एम्बास्डर रहेको रेमिट्यान्स कम्पनी इजी लिंकका सञ्चालकसमेत हुन् । शिक्षा सम्बन्धी एनजीओ चलाएर बसेका शिशिर खनाल शिक्षामन्त्री बनेका छन् । एनजीओकरणकै कारण नेपालको शिक्षा प्रणाली विग्रिएको आरोप लागिरहेका बेला एनजीओकै सञ्चालक शिक्षामन्त्री बनेपछि स्वार्थ बाँझिएको अर्थमा आलोचना भइरहेको छ ।

तर उनी आफ्नै मुद्धा चलिरहेको गृहमन्त्रालय रोज्ने पात्र भएकाले त्यो भन्दा धेरै आश गर्ने ठाउँ नभएको विश्लेषण भइरहेको छ । न कुनै छनोटको विधि, ओली–प्रचण्ड जस्तै रविले पनि गोजीबाटै मन्त्रीको नाम निकालेका हुन् ।पुरानाकै हविगतले हायलकायल बनाएको देशमा नयाँका चर्तिकला झनैं डरलाग्दो देखिएको छ । एमालेबाट स्वास्थ्यमन्त्री बनेका पदम गिरी कार्यभार सम्हाले लगत्तै वीर अस्पताल र कान्ति बाल अस्पतालको अनुगमनमा थिए ।

ट्वाइलेट कस्तो फोहोर छिछि भन्दै निस्किए । जबकि हरेक दिन त्यही शौचालयको प्रयोग गर्नु विरामीको बाध्यता बनेको मन्त्रीलाई पत्तो नै नभएजस्तो। यद्यपी यो सरकारमा पहिला भन्दा महिलाहरुको संख्या बढेको छ । युवाहरु धेरै आएका छन् । तर समावेशीताका नाममा एकजना दलित महिलामात्रै राज्यमन्त्री बनाएर प्रचण्डले सिंगो कर्णाली प्रदेशलाई मन्त्रीविहिन बनाएका छन् ।