Breaking

सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता


काठमाडौँ – प्रतिनिधिसभाको सभामुख चुनावका लागि आज उमेदवारी दर्ता हुँदै छ । दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ ।

तर, अहिलेसम्म पनि सभामुख दाबी गरिरहेका दलहरुले उमेदवार तय गर्न सकेका छैनन् । प्रधनमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति र सभामुख लिने सहमति गरेको नेकपा एमालेले समेत सभामुखको उमेदवार तोक्न सकेको छैन ।

यस्तै संसद्को सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको छ तर कांग्रेसले पनि के गर्ने भन्ने अझै टुग्याएको छैन ।

सदनको अभूतपूर्व मत लिन सफल भएका प्रधानमन्त्री दाहालले भने सभामुख र राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउने भन्दै छलफल थालेका छन् । मंगलबार बालुवाटारमा विश्वासको मत दिएका सबै पार्टीहरु बोलाएर उनले छलफल पनि गराएका छन् । छलफलमा कुनै सहमति हुन सकेन ।

प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको खोजी गरे पनि एमाले भने आफूले पाउने भनेका पद छोड्ने पक्षमा देखिएको छैन। एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य देवराज घिमिरे र सांसद विद्या भट्टराई सभामुखका आकांक्षीका रुपमा देखिएका छन् । पूर्वसभामुखसमेत रहेका दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई सभामुखमै दोहोरिन प्रस्ताव आए पनि उनले त्यो प्रस्ताव अस्वीकार गरिसकेका छन् ।

प्रतिपक्षमा रहेको कांग्रेसले सभामुख चुनावबाटै सत्ता गठबन्धन जोखिममा पर्ने र सभामुख आफ्नो वा आफूले चाहेको व्यक्ति बन्ने आकलन गरेका थियो। तर, सभामुख चुनावका लागि मनोनयन दर्ताको समय आइपुग्नै लाग्दासमेत अपेक्षाकृत वातावरण नबनेपछि कांग्रेस उमेदवारको खोजीमै लागेको छैन ।