Breaking

एमाले भड्कियो, प्रचण्डको दोहोरो चालले ओली ट्रयापमा,राष्ट्रपतिमा काँग्रेस दाउले संकटमा सत्ता


काठमाडौँ — सर्वदलीय बैठक डाँकेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन खोजेपछि गठबन्धनको नेतृत्वकर्ता एमाले भड्किएको छ । सहमति गर्दा आफ्नो भागमा परेको राष्ट्रपति काँग्रेसलाई दिने तयारी प्रचण्डले गरेपछि एमाले अध्यक्ष ओली रुष्ट बनेका छन् । जसले गठबन्धनको भविष्यमाथि नै प्रश्न उठाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पुरानाभन्दा धेरै नयाँ मन्त्री बनेका छन् । २५ सदस्यीय मन्त्रीमण्डलमा २० जना पहिलोपटक मन्त्री बनेकाहरु हुन् । त्यसमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री विष्णु पौडेल र भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ मात्रै पुराना हुन् भने वन र खेलकुद मन्त्री आउन बाँकी नै छ ।

सायद, जसपालाई सरकारमा ल्याउन हो वा राष्ट्रिय सहमतिको सरकारका लागि प्रचण्डलाई दबाब दिएको काँग्रेसलाई पनि भाग पु¥याउन हो ? प्रचण्डले दुईमन्त्री आफैँसँग राखेका छन् । तर दुईमन्त्रीमात्रै राखेर नेपाली काँग्रेससहितको राष्ट्रिय सरकार बन्ने चाहनामाथि एमाले अध्यक्ष ओलीले ढोका बन्द गरिदिएका छन् । दुईमन्त्रीकै लागि नेपाली काँग्रेस ¥याल चुहाँदै आउने सम्भावना न्यून छ । अब नेपाली काँग्रेसको आँखा राष्ट्रपति, सभामुख र संवैधानिक परिषद्बाट बाँडफाँट हुने पदहरुमा परेको छ । यसका लागि प्रचण्ड एमालेलाई पेलेरै भएपनि काँग्रेसको भाग पु¥याउने दौडमा अघि बढेका छन् ।

तर एमाले कदापी त्यो स्वीकार्ने पक्षमा छैन । यसले कसले कसलाई डाल्ने अब खेल सुरु हुँदैछ । त्यसको सुरुआत प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेको घण्टा नवित्दै काँग्रेससहितको सर्वदलीय बैठक डाँकेर गरेका छन् । जुन काँग्रेसलाई राष्ट्रपति दिन साझा सहमति गर्ने एजेन्डामा केन्द्रीत रहेको थियो ।

ओली प्रचण्डबीच सरकार गठनकै बेला आलोपालो प्रधानमन्त्री र सभामुख तर राष्ट्रपति एमालेलाई दिने गरि तीन बुँदे भद्र सहमति भएको मसी सुक्न पाएको छैन । तर मसी सुक्न नपाउँदै धुम्बाराही पुगेर देउवाको विश्वास जित्दै विश्वासको मत हासिल गरेका प्रचण्डले राष्ट्रपति काँग्रेसलाई सुम्पिन खोजेको गन्ध पाएपछि भागबण्डा टुंग्याउन बसेको गठबन्धनको बैठकमै रवि र लिङ्देनलाई साची राखेर अहिलेका लागि एमालेकै सभामुख र राष्ट्रपति ओलीले गराएका थिए ।

उक्त बैठकमा सरकारकै प्रतिपक्ष बन्छु भनेका रवि प्रचण्डको प्रतिपक्ष भएर ओलीको समर्थन देखिए । त्यतिमात्रै भएन कि, प्रचण्डमाथि नै विश्वास बोकेर बालुवाटार गएका उपेन्द्र यादवले अपमानित भएको महसुस मात्रै गरेका थिएनन् कि धारणासमेत राख्न नदिएको प्रतिक्रिया दिएका थिए । ओलीका दाहिने हात मानिएका विष्णु रिमालले नै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएर काँग्रेस राष्ट्रपति हत्याउन लागिपरेको तर्क गरेका छन् । तर प्रचण्ड र देउवाको धुम्बाराही बैठकबाट ढुक्क बनेको काँग्रेस भने प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकार बनाउनमा विश्वास गरिरहेको छ ।

नत्र पुरानै गठबन्धन ब्यूँताउनसमेत प्रचण्डलाई उक्साई रहेको छ । फलतः विश्वासको मतले ढुक्क बनेको प्रचण्ड भूमिकाबाट आशावादी बनेको छ । सरकार बन्न नपाउँदै सरकार ढाल्नेबारे प्रक्षेपण गर्नुपर्ने बाध्यकारी अवस्था ओली, प्रचण्ड र देउवाहरुले ल्याउँदैछन् । यसको अग्रसरता प्रचण्ड आफैले लिन खोजेका छन् । सरकार विस्तार भएको घण्टा वित्न नपाउँदै काँग्रेसलाईसमेत समेट्नका लागि सर्वदलीय बैठक आह्वान गर्नुले यही संकेत गरेको छ । जसमा असन्तुष्ट बनेका ओली सर्वदलीय बैठक छोडेरै बाहिरिएपछि नबोलेरै धेरै कुरा बुझ्ने अवस्था बनेको छ ।