Breaking

मन्त्रीका महत्वकांक्षी प्रतिबद्धता, कर्मचारी कटौती, वैदेशिक रोजगार शून्य सम्भव होला ?


काठमाडौँ — पद तथा गोपनियताको शपथ ग्रहण गरेसंगै नवनियुक्त मन्त्रीहरुले आ–आफ्नो कार्यभार सम्हालेका छन् । मन्त्रालय अन्तर्गतको सेवा प्रवाहमा सुधार मन्त्रीहरुको पहिला प्राथमिकतामा परेका छन् । प्रभावकारी र सहज सेवा प्रवाहमा मन्त्रीहरुले प्रतिवद्धता जनाएका छन् । गत पुष ११ गते नै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँगै सपथ ग्रहण गरे पनि २३ दिन सम्म विना विभागीय मन्त्रीको रुपमा रहेकी ज्वालाकुमारी साह कृषि मन्त्री, दामोदर भण्डारी उद्योग वाणिज्य , राजेन्द्र राई भूमि सुधार र अब्दुल खानले खानेपानी मन्त्रालयको जिम्मेवारी पाए ।

मन्त्री अब्दुल खानले भागवण्डामा असन्तुष्टि जनाउँदै खानेपानी मन्त्रालय अस्वीकार गरेर पदभार सम्हाल्न गएन्न । खान बाहेक अन्य सबै मन्त्रीहरुले आ–आफ्नो पदभार ग्रहण गरिसकेका छन । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्रीहरुले आ–आफ्नो मन्त्रालय अन्तर्गतको सेवा प्रवाहमा सहजीकरण पहिलो प्राथमिकता हुनेमा जोड दिएका छन । सपथ ग्रहण गरेको २३ दिनपछि कृषि मन्त्रालय सम्हालेका कृषिमन्त्री ज्वाला कुमारी शाहले पदभार ग्रहण गर्दै कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ नै घोषणा गर्न भ्याईन । आर्थिक वर्ष २०८०÷०८१ देखि २०८९÷९० लाई कृषि लगानी दशक घोषणा गरेकी हुन् ।

सपथ ग्रहण समारोहमा सबै मन्त्रीहरु दौरा सुरुवालमा सजिएर पुग्दा अपवाद टाईसुटमा सपथ ग्रहण गरेका नवनियुक्त पर्यटनमन्त्री सुदन किरातीले आफ्नो पहिलो निर्णय नै पर्यटन मन्त्रालयका कर्मचारी कटौति गर्ने बताएका छन् । आफुलाई स्थायी सत्ता मान्ने र प्रधानमन्त्रीको निर्देशनमै रुष्ट हुने कर्मचारी जमातमा मन्त्री किरातीको यो निर्णय उनको कार्यकालको लागि सहज हुने छैन । मन्त्री किरातीले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण,वायु सेवा निगमको सुधार गर्ने प्रतिवद्धता जनाएका छन ।

२३ सदस्यीय मन्त्रीमण्डलमा सात जना महिला नेतृहरुले विभिन्न मन्त्रालय सम्हालेका छन । जसमा मन्त्रीहरुको पहिलो वरियतामा पर्न सफल सञ्चारमन्त्री रेखा शर्माले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता हुने बताएका छन । पहिलो पटक मन्त्री बन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हालेका डोलप्रसाद अर्यालले रोजगारीका लागि बाध्यताले विदेशीने अवस्था शुन्यमा झार्ने दावी गरेका छन । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले आफ्नो पहिलो प्राथमिकता देशभरका तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिवद्धता जनाएको छ ।

नवनियुक्त स्वास्थ्यमन्त्री पदम गिरीले सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेगरी काम गर्ने प्रतिवद्धता जनाएको छ । नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पु¥याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफूले पहिलो प्राथमिकतामा राखेको छ । नवनियुक्त सबै मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयगत जिम्मेवारी अनुसार जनतामा पु¥याउने सेवालाई जोड दिएका छन ।

तर उनीहरुको प्रतिवद्धता कार्यन्वयनमा कति आउँछ शंका कायम छ । सहज सेवा र सेवाको प्रभावकारी कार्यन्वयन मन्त्रीसँगै सबै संयन्त्र जिम्मेवार छन । मन्त्रीको नेतृत्व क्षमताले भ्याए नीतिगत निर्णय सहित कार्यन्वय समेत असम्भव छैन । नत्र उहि फगत एक थान मन्त्री र आसेपासे पोस्ने केन्द्र नबनोस् । यसतर्फ नेतृत्वको ध्यानकर्षण हुन जरुरी छ ।