Breaking

प्रचण्डका २२ मन्त्री, कुन मन्त्री कस्ता ? कसको वरीयता के ?


काठमाडौँ — गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिमण्डल विस्तार गरेका छन् । यससँगै २३ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ भने दुई मन्त्रालयले भने अझै नेतृत्व पाउन सकेका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो ।

मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री ४ जना रहेका छन् । जसअनुसार विष्णुप्रसाद पौडेल अर्थ, नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात, रवि लामिछाने गृह र राजेन्द्रप्रसाद लिङ्देन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय रहेका छन्। वरीयता क्रममा पौडेल प्रधानमन्त्रीपछि दोस्रो नम्बरमा छन् भने श्रेष्ठ, लामिछाने र लिङ्देन क्रमशः तेस्रो, चौथो र पाँचौं वरीयतामा रहेका छन्।

पाँचौ वरीयतामा शपथ खाएसँगै पशुपतिको दर्शन गरेर सिंहदरबारमा पदभार ग्रहण गर्न पुगेका लिङ्देनले पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने बताएका छन् । जसका लागि तीन सदस्यीय कार्य दल बनाउने उनले बताए ।आफूले जिम्मेवारी लिएको मन्त्रालयको काम चुनौतीपूर्ण रहेपनि त्यसलाई अवसरमा बदल्ने उनले बताए ।

यस्तै मन्त्रीहरूमा पहिलो वरीयतामा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा रहेकी छिन् । उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी तोकिएको छ । शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पु¥याउनु आफ्नो प्राथमिकता भएको बताएकी छिन् ।

त्यसैगरी विक्रम पाण्डेले शहरी विकास, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राइर्ले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अब्दुल खानले खानेपानी, डा. विमला राई पौड्यालले परराष्ट्र र पदम गिरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेबारी पाएका छन् ।

यसैगरी प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, हरिप्रसाद उप्रेती रक्षा, सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा र ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका छन्।

राज्यमन्त्रीहरूमा सुशीला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या र दीपकबहादुर सिंह ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रहेका छन्। राज्यमन्त्रीतर्फ दोस्रो वरीयतामा रहेकी कार्कीले पदभार ग्रहण गर्दै पैसाको अभावले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएकी छिन् । राज्यमन्त्री बनेपनि कार्कीप्रति जनताको अपेक्षा भने मन्त्रीसरह देखिने गरेको छ ।

दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरे पनि प्रचण्डले दुईवटा मन्त्रालय अझै खाली राखेका छन् । युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालयले अझै मन्त्री पाउन सकेको छैन। दुईवटा मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै हेर्ने भएका छन्। सत्ता गठबन्धन दल जनता समाजवादी पार्टीका लागि दुईवटा मन्त्रालय राखिएको बताइएको छ । वर्तमान सरकारमा २६ प्रतिशत पुगेको छ । १७ जना नयाँ अनुहारले आफूलाई प्रमाणित गर्ने अवसर पाएका छन् ।