Breaking

सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पु¥याउँछुः मन्त्री शर्मा


काठमाडौँ — नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पु¥याउनु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ । मंगलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रीको शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पु¥याउनु आफ्नो प्राथमिकता भएको बताउनुभएको हो । उहाँले सार्वजनिक संघ, संस्थानहरुलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने बताउनु भयो ।

उहाँले सेवाग्राहीलाई सूचनाको सहज पहुँच दिलाउँदै देशलाई नै प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘मेरो प्राथमिकता भन्दापनि अहिले हामीले नेपाल सरकारले जुन नीति कार्यक्रमको कुरा पनि छँदैछ । हामीले सहज पहुँच, सूचना, सञ्चार र प्रविधिमा सहज पहुँच जनतामा पु¥याउने कुरा । अर्कोकुरा हाम्रा उत्पादनदेखि लिएर सबै सार्वजनिक संघ, संस्थानहरुमा सूचना र प्रविधिका कुरालाई सहजतापूर्वक कसरी उपलब्ध गराउन सकिन्छ र सूचनालाई कसरी सेवाग्राहीको पहुँचमा पु¥याउन सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने लागेको छ । प्रविधिमैत्री देशलाई कसरी बनाउने भन्ने कुरामा ध्यान दिनुपर्दछ ।’

मन्त्री शर्माले हरेक नागरिककहाँ सूचना प्रविधि सहज र सुलभ ढंगले पुग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै कामहरु प्रविधिमार्फत हुन सकेमा देशलाई समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘सहज सुलभ हुने कुरा भयो । समस्यालाई समाधान गर्ने गरेर गुणस्तरीय, सहज र सुलभ ढंगले हरेक नागरिकको पहुँचमा सूचना प्रविधि पुग्नुपर्छ र सबै हाम्रा कामहरु सूचना प्रविधिमार्फत् हुने भयो भने देशले समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुन्छ ।’

उहाँले सार्वजनिक संस्थानहरुमा सहज ढंगले सञ्चार र प्रविधिको प्रयोग हुन नसक्दा समस्या परेको भन्दै ति सबैलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘संसार ग्लोवललाइजेशनमा गइसक्यो । हाम्रो त्यो ढंगले विकास हुन सकिराखेको छैन । सार्वजनिक संस्थानहरु अस्पतालहरु भयो, विभिन्न ठाउँहरु भयो त्यहाँ पनि हाम्रो सहज ढंगले सञ्चार, प्रविधिको प्रयोग हुन नसक्दाखेरी, बैंकिङ, बित्तिय कारोबारमा, उत्पादनमा सबै ठाउँमा यो हुन नसक्दा हामी केही समस्यामा पक्कै छौँ ।

त्यसलाई कसरी सहज, सुलभ बनाउन सकिन्छ, यसलाई उत्पादनसँग कसरी जोड्ने, सामाजिक संघ, संस्थामा लगेर कसरी जोड्ने र हरेक मान्छेको दैनिक जीवनमा सूचना, प्रविधिलाई कसरी जोड्ने भन्ने विषय नै चुनौतिको विषय हो । त्यसलाई हाम्रो देशको अर्थतन्त्रले थेग्न धान्न र त्यही ढंगले अगाडी बढाउन सक्नुपर्छ भन्ने लागेको छ । त्यही नै चुनौति र सम्भावना हुन् ।’