Breaking

म मन्त्री हुने भएँ भन्दा बुवा रूनुभयो : सुदन किराती


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराती मन्त्री हुने भएका छन् । मंगलबार विस्तार हुन लागेको मन्त्रिपरिषदमा माओवादीले उनलाई पर्यटन मन्त्री बनाउने भएको छ ।

मंगलबार बिहान आफू मन्त्री बन्न लागेको कुरा किरातीले आफ्ना ७५ वर्षका बुवालाई सुनाए । उनका बुवा हर्कबहादुर राई प्यारालाइसिसका कारण अहिले ओछ्यानमै छन् । बेलायती सैनिकमा भर्ती भएका हर्कबहादुरले फकल्यान्ड युद्ध पनि लडेका थिए। छोराको कुरा सुनेर बुवा हर्कबहादुर भावुक बने ।

भोजपुरका सुदन किराती माओवादी सशस्त्र युद्धमा भूमिगत भएका थिए। झन्डै १ वर्ष उनी जेल परेका थिए। पहिलो संविधान सभा, २०७४ र अहिले गरी उनी तेस्रो पटक सांसद बनेका छन्।

पहिलो पटक मन्त्री बन्न लागेपछि किरातीले बुवासँग भएको कुरा सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्।

म : बुवा म मन्त्री हुने भए छु।

बुवा : हँ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि बिपना हो ?

म : हो बुवा साँच्चै हो बिपना नै हो । (संस्कृति,पर्यटन तथा नागरिक उड्डयन)

बुवा : मन्त्री चाहि कसरी भइसरु कसले गर्दा भइस्रु

म : पहिलो त तपाईंहरूले जन्माउनु भयो, दोस्रो त मैले धेरै राजनीतिमा दुस्ख गरे, तेस्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्‍यो ।

बुवा : राम राम राम ! म उहिले फकल्यान्डको लडाइँमा मरेको भए यो दिन सुन्न र देख्न पाउँदिन थें !

म : म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो…

बुवा : हाम्रो वंशमा वडा अध्यक्षसम्म कोही भएनौं, राम्रो गर्नू ।

म : पाउनु ठूलो कुरा होइन, काम गर्नु ठूलो कुरा हो। म मेहनेत गर्छु। आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी सँगै हुन पाएको भए…

बुवा : म गएपछि तेरो आमा सँग भेट हुन्छ नै होला म सबै भनिदिउँला । बुवा रूनु भो ! म…

सम्झे !

बुवाले मलाई जेलमा भेट्न आउँदा पनि ऊ बेला धेरै रूनु भएको थियो । आज पनि उस्तै रूनुभयो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाव भने फरक ।