Breaking

मन्त्रालय भागवण्डा टुंगियो, मन्त्रिपरिषद् विस्तार आज


काठमाडौँ – सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा टुंगिएको छ । आज मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने र १ बजे सपथ हुने तय भएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । स्रोतका अनुसार सत्ता गठबन्धनको सबभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने छ । माओवादी केन्द्रले ४ मन्त्रालय लिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले ३्र३ वटा मन्त्रालय पाउने भएको छ । माओवादी केन्द्र, रास्वपा र राप्रपाले एक/एक राज्यमन्त्री पनि पाउनेछन् ।

जनता समाजवादी पार्टी (जसपा) को भागमा दुई र जनमत पार्टीको भागमा एक मन्त्रालय परेको छ । स्रोतका अनुसार एमालेको भागमा परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य तथा जनसंख्या र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय परेको छ । अर्थ मन्त्रालय यसअघि नै लिइसकेको छ ।

माओवादीको भागमा सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ । उसले भौतिक पूर्वाधार लिइसकेको छ । गृह मन्त्रालय लिइसकेको रास्वपाले शिक्षा र श्रम पाएको छ भने राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद पाएको छ ।

जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ । तर उपराष्ट्पति नपाएका कारण जसपा सरकारमा आउने सम्भावना कम छ । जनमतलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ ।

एक नेताका अनुसार संघीय मामिला दिएर लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने प्रयास पनि भइरहेको छ । त्यसो भएमा माओवादीले कानुन वा वन मध्ये एक लिने छ भने अर्को एमालेको भागमा पर्नेछ ।