Breaking

सामाजिक सञ्जालमा भाइरल भएको फुटेज यती एयरलाइन्स जहाज दुर्घटनाको नभएको पुस्टी


काठमाडौँ — आइतबार यती एयरलाइन्सको जहाज दुर्घटनाका बेला खिचिएको भन्दै भाइरल भइरहेको एक भिडियो उक्त दुर्घटनासँग सम्बन्धित नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता निरौलाले उक्त भिडियो अन्य कुनै जहाजको भएको बुझिएको बताए । ‘यस घटनालाई जोडेर भ्रम फैलाउने हिसाबले कसैले गलत सूचना सम्प्रेषण गरेको देखिन्छ’ उनले भने ।

प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनको लागि नेपाल सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनैपनि व्यक्ति, संस्था, सम्बन्धित निकाय र पूर्व कर्मचारीलाई जथाभावी नबोल्न समेत भनेको छ । प्रवक्ता निरौलाले छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउने भन्दै घटनाका विषयमा अड्कल अनुमान गर्नु वाञ्छनीय नहुने बताए । उनले कोही पनि व्यक्तिले आफ्नो अनुमानको भरमा विज्ञता दर्शाउनुपर्ने आवश्यकता नरहेको बताए ।