Breaking

सुदूरपश्चिममा सभामुख चयन गर्ने आज अन्तिम दिन


काठमाडौँ — सुदूरपश्चिममा सभामुख र उपसभामुख चयनका लागि संविधानले दिएको समय सीमा आज सकिंदैछ तर अहिलेसम्म प्रदेश सभाले सभामुख र उपसभामुख पाउन सकेको छैन ।

प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेका हुन् । सभामुख चयन हुन नसक्दा प्रदेश सभाले उपसभामुख पनि पाएको छैन । सभामुख चयनका लागि आज बिहान ९ बजे पुनः प्रदेश सभाको बैठक बोलाइएको छ ।

पोखरामा भएको विमान दुर्घटनामा सरकारले शोक बिदा दिए पनि सुदूरपश्चिममा भने संवैधानिक जटिलता उत्पन्न हुने भएकाले बैठक बस्नै पर्ने बाध्यता छ ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले अहिले बिहानैसर्वदलीय बैठक बोलाइएको जानकारी दिए । उनकाअनुसार बैठकमा सभामुख र उपसभामुख चयनका विषयमा छलफल गरेर प्रदेशसभा बैठक सञ्चालन गर्ने तयारी छ ।

सभामुख चयनका लागि २८ पुसमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका भीम भण्डारीले २६ र कांग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए । सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।

३० पुसमा भएको पुनः मतदानमा भने दुवै उम्मेदवारले २२र२२ मत पाएका थिए । सत्तारुढ गठबन्धनको निणरयक घटक नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा ३० गते पनि कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेका हुन् ।