Breaking

पोखरा विमान दुर्घटना : पूरा भएन महोत्सवमा भेट्ने देखि हिमाल हेर्ने सपना


काठमाडौँ – आइतबार बिहान पोखराको सेती खोंचमा यति एयरलाइन्सको जहाज दुर्घटनामा पर्‍यो । काठमाडौँबाट उडेको उक्त जहाज अवतरणका लागि अनुमति लिइसकेपछि भएको यो दुर्घटनालाई लिएर अहिले देश स्तब्ध छ । विदा मनाउने हिडेका देखि चाडपर्व लक्षित कार्यक्रम गएका र विदेशी समेत रहेको विमान दुर्घटनामा जिवित भेटिने आशा समेत मरेको छ ।

लोकगायिका निरा छन्त्यालको आज पोखरामा आयोजित एक कार्यक्रममा सहभागी हुन पोखरा जाँदै थिईन । आजै बिहान आफ्नो एक तस्बिर सार्वजनिक गर्दै माघे संक्रान्तिको शुभकामना समेत दिएकी दिएकी उनका लागि यो यात्रा नै अन्तिम बन्यो । अर्कि थिईन रुसी नागरिक एलिना बन्दुरो । २१ घण्टाअघि नेपाल जाऊँ भनेर लेखेकी उनले आफ्नो फेसबुक र इन्स्टाग्राममा आफ्नो अन्तर्राष्ट्रिय विमानभित्रको सेल्फी र हिमालको फोटो जोडेर ‘गो टु नेपाल’ भनेर लेखेकी थिइन् । उनको पनि यहि यात्रा नै अन्तिम बन्यो । विदा मनाउन हिडेका ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डाक्टर सुशील श्रेष्ठ, उनकी श्रीमती डा.सोना र उनीहरुको बच्चा समेत यहि दुर्घटनामा ज्यान गुमाउन पुगे । यहि विमानमा उनीहरु सहितका ६८ यात्रु र चालक दलका चार सदस्य पनि थिए । तीमध्ये ५३ जना नेपाली र ५ जना भारतीय नागरिक थिए भने विमानमा भएका ७२ जनामध्ये ३७ पुरुष र २५ महिला थिए । यात्रुमध्ये पनि तीन बालक र तीन शिशु पनि थिए ।

सफा मौसम,अनुभवी चालक दल र अन्तराष्ट्रिय मापदण्डको विमानस्थलमा ढुक्क यात्रा गर्दै गरेका यी सवैका यो नै अन्तिम यात्रा बनेको छ । अन्तिम पटक बिहान १०ः५० बजे सम्पर्कमा आएको र उडान अनुमति नै लिइसकेको यति एयरलाइन्सको ९ एन–एनएनसी यहि एटीआर विमान दुर्घटनामा अहिलेसम्म ६९ जनाको त शव नै फेला परेको छ ।

दुर्घटनामा परेको जहाज वरिष्ठ क्याप्टेन कमल केसी र पाइलट अञ्जु खतिवडाले उडाएका थिए । क्याप्ट्ेन बन्ने अन्तिम उडान भर्दै गरिका खतिवडाले नै देब्रेतर्फको जिम्मा पाएकी थिईन । जहाज उडान र अवतरणमा सबै भूमिका देब्रेतर्फबाटै हुने भएकोले मुख्य भूमिका नै यो उडानमा अन्जुले सम्हालेकी थिइन् । उनलाई मार्गनिर्देशन ३५ वर्ष लामो अनुभव भएका क्याप्टेन केसीले गर्दै थिए । तर अन्जुले क्याप्टेन क्लियरेन्सको प्रमाण पत्र पाउने त्यही उडान दुर्घटनामा परेको हो । १५ दिन अघि मात्रै उडान सुरु भएको अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार उडानको समयमा मौसमको कुनै समस्या थिएन ।

धमाधम उडान भइरहेका थिए । सो जहाज पनि बिहान काठमाडौंबाट पोखरा पुगेर फर्किएको थियो। पोखराकै लागि यो दोस्रो उडान थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाका अधिकारीहरुका अनुसार पनि विमानले अवतरण गर्न “१० देखि २० सेकेन्ड मात्रै बाँकी“ थियो । दुर्घटनाको कारणबारे पत्ता नलागेको यो दुर्घटनालाई त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर पनि अचम्मित छन । उनका अनुसार उडानका लागि बाहिरका सबै विषय सामान्य रहेको अवस्थामा पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएको हो ।

सेती खोँचमा खसेको जहाजका तीनवटा मुख्य टुक्रासम्म पुगेर अहिले सुरक्षाकर्मीले उद्धार गरिरहेका छन । यो दुर्घटनामा ज्यान गुमाउने सवैको शव अहिलेसम्म पनि फेला पर्न सकेको छैन भने जिवित भेटिने सम्भावना पनि शुन्यप्राय नै । अहिले पनि तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरू खोजी तथा उद्धार कार्यमा खटेका छन् भने शशस्त्रले यसका लागि गोताखोर परिचालन गरेको छ । भेटिएका शवहरु पनि आज पोखरामा नै राखिने भएको छ भने जिल्ला प्रशासन कार्यालयले पहिचान भएकाहरूको शव भोलि नै परिवारलाई बुझाउने निर्णय पनि गरेको छ । त्यस्तै यति एयरलाइन्सले पनि भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ ।