Breaking

छिमेक सम्बन्ध सुधार्न प्रचण्डलाई सुनौलो अवसर, कुटनीतिक क्षेत्रको विकृति प्रचण्डले पार लगाउँलान्


काठमाडौँ- आन्तरिक राजनीतिक अस्थिरता र नेतृत्वको राजनीतिक रवैयाले मुलुकको विदेश नीति विचलित अवस्थामा छ । छिमेकीसँगको सम्बन्ध विथोलिएको लामो समय भयो । अन्तराष्ट्रिय स्तरमा नेपालको छवि निरन्तर खस्किदो क्रममा छ । आन्तरिक राजनीतिक चुनौतिकाबीच कुटनीतिमा आलोकाँचोका रुपमा आलोचित प्रधानमन्त्री प्रचण्डले कुटनीतिक क्षेत्र सुधार्न सक्लान् ?

मुलुकको भौगोलिक अवस्थिति, भू–राजनीतिक जटिलतासँगै तिव्र परिवर्तित विश्व भू–राजनीतिक परिदृश्यले मुलुकको कुटनीतिक क्षेत्रको सुधारसहित प्रभावकारी र सन्तुलित वैदेशिक सम्बन्ध यत्ति बेला सर्वत्र चासोको विषय बनेको छ । आन्तरिक राजनीतिक अस्थिरता र अझ नेतृत्वको राजनीतिक प्रवृत्तिले मुलुकको विदेश नीति विचलित अवस्थामा छ । छिमेकीसँगको सम्बन्ध विथोलिएको लामो समय भयो ।

अन्तराष्ट्रिस्तरमा मुलुकको छवि निरन्तर खस्किदो क्रममा रहेका बेला नयाँ सरकारको उदय नागरिकको जनजीविकाको सुधार मात्र होइन कुटनीतिक मामिला र अन्तराष्ट्रिय सम्बन्ध सुधारका हिसावले समेत महत्वपूर्ण मानिन्छ । मुलुकको ४४ औ प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको कुटनीतिक भेटघाटलाई हेर्दा उनी अन्तर्राष्ट्रिय मामलामा सतर्क रहेको बुझ्न सकिन्छ ।

प्रधानमन्त्री प्रचण्डले विहिवार नेपालका लागि जर्मन राजदुत थोमस प्रिन्ससँग भेट गरेका छन । भारत चीन अमेरिका सहित अन्य मुलुकका राजदुतहरुसँग भेटघाट भईसकेको छ । भेटघाट हुने क्रम जारी छ । मिलिजुली बनेको सरकार, कम्युनिष्ट नेतृत्वको गठबन्धनको सरकार र सदनको तेस्रो दलले सत्ता सम्हालेका कारण पनि चासोमा रहेको विदेशी शक्ति केन्द्र चलायमान भएका छन् । प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय सुरक्षा र सन्तुलित विदेश नीतिलाई विशेष ध्यानमा राख्दै आर्थिक समृद्धि र राष्ट्रहित केन्द्रमा राखेर विदेश नीति सञ्चालन गर्नुपर्ने जानकारहरुको सुझाव छ ।

तत्कालिन कांग्रेस–माओवादी केन्द्रको गठबन्धन बन्नु र भत्किनुदेखि अहिलेको नयाँ सत्ता समिकरणको निर्माणमा बाह्य शक्तिको हस्तक्षेप र भूराजनीतिक प्रभाव भएको विश्लेषण सामान्य जस्तो बनेको छ । अहिलेको सत्ता समिकरण बन्नुमा आ–आफ्नो विश्लेषण कायम छ । कम्युनिष्ट नेतृत्व सत्ता साझेदार रहेका कारण अहिलेको सत्ता समिकरण बन्नुमा उत्तरको प्रभाव रहेको दावी कतिपयको छ भने कतिपयले भने बढ्दो अमेरिकी प्रभावका कारण अहिले समिकरणमा दक्षिणको छिमेकी भारतको प्रभाव रहेको दावी गर्छन । बढ्दो अमेरिकी प्रभाव निस्तेज गर्न अहिलेको सरकार गठनमा भारतको समेत समर्थन रहेको कतिपयको तर्क छ ।

जानकारहरुको विश्लेषणका आधारमा हेर्दा विथोलिएको छिमेक सम्बन्ध सुधार गर्न प्रधानमन्त्री प्रचण्डका लागि विशेष अवसर मान्न सकिन्छ । कम्युनिष्ट नेतृत्व सत्तामा हुँदा उत्तरको छिमेकी चीन उदार हुने नै भयो । प्रचण्ड प्रधानमन्त्री हुन साथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो बधाईले पनि भारत प्रचण्डप्रति सकरात्मक छन भन्ने बुझ्न सकिन्छ । यद्यपि प्रचण्ड प्रश्नकै घेरामा छ । कारण आन्तरिक राजनीतिमा परिपक्व भए पनि बाह्य कुटनीतिक मामिलामा प्रचण्ड पटक पटक कच्चा र आलोकाँचो प्रस्तुत भएको नजिर छ ।

सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री भएलगत्तै दिल्ली छोडेर चीनको यात्रा र आफै आत्मग्लानी गर्नु, अहिले प्रधानमन्त्री बन्न साथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टवीट्बाट हौसिएर भारतीय सञ्चारमाध्यममा निर्धक्क भारतबाट नै अन्तराष्ट्रिय भ्रमण सुरु गर्ने अभिव्यक्ति नै दिनु केहि अस्वभाविक दृष्टान्त नियाले पुग्छ । विदेश मामिलामा नेतृत्वमा छँदा वारम्वार चुकेका, धोका खाईसकेका प्रचण्डले विगतको तितो अनुभवलाई पाठमा परिणत गर्दै छिमेक सम्बन्ध सुधार र अन्तराष्ट्रिय मामिलामा प्रचण्ड कति माहिर हुन्छन् विस्तारै थाह हुने नै छ ।