Breaking

एमालेमाथि धोकाको संकेत, प्रचण्डको दोहोरो चालले ओली संकटमा, राष्ट्रपति काँग्रेसलाई बाँड्ने तयारी


काठमाडौ- एमालेसँग लामो सहकार्य हुनेमा आश्वस्त नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको सुरक्षाका लागि कांग्रेसको समेत समर्थन लिएका छन् । अब काँग्रेसलाई पनि मिलाएर जाने चुनौती उनी आफैँले उठाएका छन् । तर यसबाट झस्किएको एमालेले सत्ता सहकार्यमै संकट देखिरहेको छ । जसलाई मिलाएर जान प्रधानमन्त्री प्रचण्डलाई दबाब परेको छ ।

नेकपा एमाले र माओवादीसहित सात दलको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएर विश्वासको मतमा काँग्रेसलाई समेत गुहार्न बाध्य बनेका प्रधानमन्त्री प्रचण्ड अब कसलाई रिझाउने, कसलाई चिड्याउने दबाबमा परेका छन् । तर एमाले, माओवादीको मत काँग्रेसको ढोक्सामा प¥यो भने, राष्ट्रपति गुमाइन्छ कि भन्ने शंकाले सशंकित बनेको छ । किनकि प्रधानमन्त्री प्रचण्डले आफु साझा सहमतिको प्रधानमन्त्री भएकाले सबैलाई मिलाएर जाने भन्दै गरेको दाबी नै शंकाको घेरामा छ । झन शनिबार सभामुख र राष्ट्रपतिका विषयमा नेपाली काँग्रेससँग पनि छलफल हुने बताएपछि एमालेमाथि धोका हुने सम्भावना बलियो बनेको छ ।
तर विपक्षी स्वर शून्य भएकाले सबैलाई सत्तापक्ष बनाएर जान प्रधानमन्त्री प्रचण्डलाई सजिलो छैन । किनकि पुस २६ मा काँग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सत्तामा लगानी गरेको छ । अब त्यसको ब्याज स्वरुप कि राष्ट्रपति, कि सभामुख भन्ने लाइनमा काँग्रेस सभापति देउवा छन् । यता विश्वासको मत पाउनुभन्दा अघिल्लो दिन देउवा निवास खोज्दै गएका प्रचण्डले गोप्य सहमति गरि फर्किएको आशंकामा एमाले अध्यक्ष ओली सशंकित मात्रै छैनन्, सत्ता सहकार्य नै संकटमा देखिरहेका छन् । यसैकारण बिहिबार भएको भेटवार्तामा ओलीले प्रचण्डमाथि आशंका दर्शाएका थिए । तर प्रचण्डले काँग्रेससँग कुनै सहमति नगरेको भन्दै आश्वस्त पार्ने कोशिस गरेका थिए । अब बिना सर्त संसदमा विश्वासको मत दिएका देउवा र काँग्रेस नेतृत्वकै गठबन्धन हाइज्याक गर्दै प्रधानमन्त्री बनाइदिएका ओली मिलाएर सत्ता टिकाउनु प्रचण्डको पासो बनेको छ ।
राष्ट्रपतिकै विषय सोचेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको दाबी काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइरालाले सार्वजनिक रुपमै गरेका छन् । त्यसलाई बल पुग्नेगरि प्रधानमन्त्री प्रचण्डले सभामुख र राष्ट्रपतिका विषयमा काँग्रेससँग छलफल हुने बताएपछि धेरै कुरा नबोलेरै प्रस्ट भएका छन् । किनकि कांग्रेसले समर्थन गर्नेबित्तिकै प्रधानमन्त्री प्रचण्ड संसद्भित्र गणितीय रुपमा झन मजबुत बनेका छन । अब सत्ताको चाबी एमालेसँग मात्रै छैन । ओलीसँग खटपट बढे कांग्रेसले काँध थाप्ने बलियो विश्वास प्रचण्डमा बढेको छ । एकलाई राष्ट्रपति र अर्काेलाई सभामुख दिएर सत्तामा बलियो हुने नीति पनि प्रचण्डकै छ । किनकि काँग्रेसको समर्थनलाई प्रधानमन्त्री प्रचण्डले ओलीलाई साइजमा राख्ने गतिलो हतियारका रुपमा प्रयोग गर्न खोजिरहेका छन् ।
सरकारको नेतृत्व प्रचण्डले गरेपनि गठबन्धनको नेतृत्व गरेका ओलीकै तजबिजमा सरकारको भागबण्डा भइरहेको छ । गठबन्धनमा सहभागि दलहरु पनि बालुवाटारभन्दा धेरै बालकोटतिरै धाउने गरेका छन् । गठबन्धनको हर्ताकर्ता एमाले पनि आफु दिने ठाउँमा भएकाले अरुसँग मागिरहनुपर्ने अवस्था नभएको बताउँछ । यसैकारण माओवादीले प्रधानमन्त्री पाएर बाँकी महत्वपूर्ण मन्त्रालय गुमाउने दबाबमा परेको छ । माओवादीले नेतृत्व गरेका प्रदेश सरकार मात्र आलोपालो सहमति बनेको छ । यसबाट पनि प्रचण्ड सन्तुष्ट छैनन् । फलतः एमाले नहुँदा पनि सरकार ढाल्ने अवस्था नभएकाले राष्ट्रपतिको निर्वाचनसम्म प्रचण्डले दोहोरो चाल चल्ने सम्भावना बलियो बन्न थालेको छ । तथापी सत्ता सहकार्यसँगै वाम एकताको पक्षमा रहेका प्रचण्डसँग यति चाँडै धोकाधडी होला भन्ने विश्वासमा एमाले देखिन्न ।