Breaking

ओलीसँग लड्न माधवसँग घनश्याम, भत्कियो बन्दै गरेको एकता, देउवासँग मिलेर गठबन्धन भत्काउँदै माधव


काठमाडौँ — प्रचण्डको सत्तारोहणसँगै अलमलमा परेका माधव नेपालसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकताको प्रयासमा छन् । तर माधवको दम्भले एमालेमै फर्किने सम्भावना नाजुकअवस्थामा छ । ठिक यसैबेला घनश्याम भुसालको एकीकृत समाजवादी प्रवेशले सम्भावनालाई झनै संकटमा धकेलेको छ । नेकपा विभाजनपछि सम्बन्ध बिग्रिएर संवादसमेत बन्द गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचनाटकीय रुपमा सत्ता सहकार्य भएपछि माधव नेपाल संकटमा छन् ।

जुनसुकै मूल्य चुकाउन तयार, तर ओलीसँग सहकार्य गर्न संकोच मानिरहेका माधवलाईएमालेमा गइहाल्ने अवस्था पनि बनेको छैन् । तर पार्टी विभाजनको औचित्य पुष्टि नभएपछि अस्तित्व रक्षाकै लागि भएपनि समाउने हाँगो र टेक्ने डालो खोजिरहेका उनलाई एमाले नै सहज साथी बन्ने आकलन धेरैको छ । यसका लागि एमाले अध्यक्ष ओली केही लचक भएरै पनि माधवलाई स्वीकार्न तयार देखिन्छन् । तर प्रधानमन्त्री प्रचण्डलाई काँग्रेसले विश्वासको मत दिएसँगै विकल्पमाथि खेल्न थालेका माधव काँग्रेसकै भाषामा ओलीमाथि खरो बन्न थालेकाछन् । संसदमा माधवले ओलीमाथि गरेको कटाक्षले एकता यसै संकटमा परेका बेला ओलीका खास आलोचक घनश्याम भुसाल नेकपा एसमा भित्र्यिएपछि हाललाई सम्भावना पनि सकिएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का अधिकांश नेताहरु पार्टी एकताको पक्षमा उभिएका छन् । त्यसमध्ये धेरैको मत एमालेसँग सम्माजनक एकताको पक्षमा छ । तर त्यसलाई दबाउन हिजोसम्म एक्लै लडिरहेका माधवको साथमा अब घनश्याम भुसाल पनि हुने भएपछि एमालेसँगको एकता हाललाई टुटेको बुझ्न सकिने कतिपय नेताहरु नै बताउँछन् । किनकि ओलीकै निषेधले माधव पार्टी विभाजन गर्न बाध्य बनेका हुन् भने, ओलीकै पेलानमा रहेका भुसाल टिकटसमेत खोसिएपछि एमाले छोडेर एमालेकै विरुद्ध चुनाव लडेका पात्र हुन् । अब झन अक्करमा ठक्कर थपिएपछि सम्भावना नजिक मानिएको एकता भुसालकै प्रवेशले शहीद बनेको छ ।

ओली र माधवबीच प्रचण्डको जस्तो सहज एकता सम्भव थिएन । तैपनि नेकपा एसलाई आफुसँगै तानेर संसदको ठूलो दल बन्ने लोभले ओली लचक बनेका थिए । यसको पहिलो कदम स्वरुप एमाले नेता पृथ्वीसुब्बा गुरुङ र महेश बस्नेत लगायतले कोटेश्वरमै पुगेर एकताको पहल लिएका थिए । माधव पनि राष्ट्रपति नै दिए, किन नयाँ पार्टीको बोझ उठाएर बस्नु ?भन्ने लाइनमा थिए । तर प्रचण्डलाई विश्वासको मत दिने काँग्रेसको कदमले माधवको समेत मनोबल बढेपछि उनी ओलीमाथि तीखो र तितो बन्न थालेका हुन् ।

नेकपा एसले उपेन्द्र यादव नेतृत्वको जसपासँग पनि एकताका लागि कार्यदल बनाएको छ । ठिक त्यसै ढंगबाट एमालेसँग पनि जसपाको एकता संवाद चलिरहेको छ । तर प्रधानमन्त्री प्रचण्डमाधव नेपाल, बाबुराम भट्टराई रउपेन्द्र यादवसहितको एकता गर्दै त्यसको नेतृत्व लिने तयारीमा छन् । सबैले सबै वाम घटकहरुसँग एकताको गृहकार्य चलाइरहेका छन् । तर एकले अर्काको अस्तित्व स्वीकार्ने अवस्थाको अन्त्य अहिले पनि बनेको छैन ।

ठिक यसैबेला नेपाली काँग्रेस प्रचण्ड र ओलीबीचको फाटो ल्याउने गृहकार्यमा छ । माधवकुमार नेपाल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कित्तामा उभिएर गठबन्धन भत्काउनेसम्मको तयारीमा अघि बढेका छन् । किनकि एमाले नेतृत्वको गठबन्धनमा आफ्नो कल्याण छैन भन्ने बुझाई माधवको पनि छ ।