Breaking

राजनीतिक परिदृश्यको मुख्य योजनाकार केपी ओली होः वामदेव गौतम


काठमाडौँ — राष्ट्रिय सभाका सांसद वामदेव गौतमले मुलुकको पछिल्लो राजनीतिक परिदृश्यको मुख्य योजनाकार केपी ओली भएको बताउनुभएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका सांसद गौतमले मुलुकमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली भएको टिप्पणी गर्नुभएको हो । तर, मुख्य पात्रको भुमिकामा भने पुष्पकमल दाहाल रहेको उहाँको भनाई थियो । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्ने क्रममा उहाँले ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अर्जुनको उपमा दिँदै भन्नुभयो, ‘यो स्थिति ल्याउनुमा जुन आजको स्थिति बिग्रेको छ भनिन्छ ।

त्यसको निम्ति मुल कृष्ण भएर भुमिका खेल्ने कमरेड केपी ओली हुनुहुन्छ, नेकपा (एमाले) का अध्यक्ष । मलाई धेरै पत्रकारहरुले सोध्नुभएको थियो–यस पटक यो राजनीतिक महाभूकम्प ल्याउनेमा तपाईँले कसलाई मुख्य पात्र मान्नुहुन्छ भनेर ? मैले भने–पात्र त प्रचण्ड नै हो । तर योजना बनाउन र त्यसलाई कार्यान्वयनमा ल्याउने काममा केपी ओली हुनुहुन्छ । महाभारतमा अर्जुन र कृष्णहरु छन् । कृष्णलाई मुख्य मान्छन् तर धुनवान चढाएर सबैसबै समाप्त गर्ने त अर्जुन नै हो । त्यसो भएर कृष्णलाई पछाडिबाट सहयोग गर्ने व्यक्ति मानिन्छ । पात्रको रुपमा अर्जुनलाई मानिन्छ ।

यस पटक हाम्रो देशमा घटेको यो महाभूकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली । र, मुख्य पात्र प्रचण्ड हुनुभएको छ ।’
सांसद गौतमले सबैको विश्वासको मत लिएर प्रधानमन्त्री बन्नुभएको भन्दै दाहाललाई धन्यवाद समेत दिनुभयो । उहाँले सरकारलाई विश्वासको मत दिएकोमा काँग्रेस सभापति शेरबहादुर देउवाप्रति पनि आभार व्यक्त गर्नुभयो । सांसद गौतमले नेपालको संविधानमा केहीँ पनि प्रतिपक्ष भन्ने नरहेको जिकिर समेत गर्नुभयो । एउटै दलको नेतृत्वमा सरकार बन्दाबाहेक अन्य अवस्थामा प्रतिपक्षको व्यवस्था संविधानमा नरहेको सांसद गौतमको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधानमा कहीँ पनि प्रतिपक्ष भन्ने छैन । त्यो त नियमावलीमा छ, सिद्धान्तमा छ । र, संविधानमा कहीँ पनि छैन । संविधानले एउटा अवस्थामा एउटै पार्टीको नेतृत्वमा सरकार बन्छ । अरु सबै प्रतिपक्षमा बस्ने स्पष्ट रुपले बताएको छ । यस पटकको सरकार संविधानको धारा ७६ को उपधारा २ को सरकार हो ।’ सांसद गौतमले काँग्रेस नेताहरुले प्रतिपक्षको भुमिका निर्वाह गर्ने भनेर भनेकाले त्यसमा विश्वास गरेर अघि बढ्न उपयुक्त हुने बताउनु भयो ।