काठमाडौँ — नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले सरकार र संसदको स्थिरताका लागि वर्तमान सरकारलाई काँग्रेसले विश्वासको मत दिएको बताउनुभएको छ । शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद पन्थले सत्ता स्वार्थको लागि काँग्रेसले सरकारलाई विश्वासको मत नदिएको स्पष्ट पार्नुभयो । उहाँले गठबन्धनभित्र ठूला दलहरुको दम्भ बढेको र साना दलहरुको बार्गेनिङ पावर बढेको भन्दै उहाँले दुवैलाई सन्तुलनमा राख्नका लागि काँग्रेस मैदानमा प्रवेश गरेको बताउनु भयो ।
उहाँले काँग्रेस खेलाडीको रुपमा नभइ रेफ्रीको रुपमा मैदान प्रवेश गरेको भन्दै आफुहरु खबरदारी गर्नका लागि मैदानमा आएको बताउनु भयो । जो कोही नभएपनि सरकार र संसद पाँच वर्ष चल्छ भन्नका लागि काँग्रेसले सरकारलाई विश्वासको मत दिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘अघिल्लो पटक सांसदहरु अपहरण भए । यसपटक आउँदा आउँदै गठबन्धन पनि अपहरण भयो । यि थुप्रै कुराहरुको बिचमा नेपाली काँग्रेस मैदानमा छिरेको हो ।
सत्ताको लागि, त्यहाँ भित्र कुनै स्वार्थको लागि छिरेकै होइन । त्यहाँ माछा छैन पनि भन्नुहुन्छ । फेरि जालसँग डराउनुहुन्छ । यो भएछ चाहीँ के फेरी ? डराउनुपर्ने कुरै छैन भने किन डराउने ? थुरथुर्ती काम्ने ? नेपाली काँग्रेसको मैदान प्रवेश खेलाडीको रुपमा हुँदै होइन । एउटा रेफ्रीको रुपमा हो । मैदानमा खेलाडी बाहेकका अन्य शक्ति पनि हुन्छन् । त्यो शक्ति भनेको यतिखेर नेपाली काँग्रेस हो । त्यहाँ रंगिबिरङ्गी देखियो । कसैका दम्भ, घमण्ड र अहंकारहरु बढे संसद छिर्दै गर्दाखेरी ।
ठूलाठूलाका अहंकार र दम्भ बढे । साना सानाका बार्गेनिङ पावर पनि बढ्यो । हामीले पहिलेदेखि नै स्थिर सरकार खोजेको हो । स्थिर राजनीति खोजेको हो । यो संसद खुरुखुरु पाँच वर्ष चलोस् भनेको हो हामीले । सरकारले पनि पाँच वर्ष खुरुखुरु काम गरोस् भन्ने नै हो । त्यसमा नेपाली काँग्रेस कहिलेपनि विचलित छैन । तर त्यहाँ ठूलाठूलाका दम्भ र अहंकार बढ्यो । साना सानाको बार्गेनिङ पावर बढेपछि हामी सिट्ठी लिएर मैदान छिरेको हो ।
खबरदार यहाँ जो नभएपनि संसद पाँच वर्ष चल्छ । यहाँ भएका जो नभएपनि सरकार पाँच वर्ष टिक्छ है भनेर खबरदारीका लागि, स्थिरताका लागि नेपाली काँग्रेस मैदान छिरेको कुरालाई अन्यथा लिनु भएन । त्यो खेलाडीको रुपमा होइन । माछा छैन भनिरहनुभएको छ त्यो जाल देखेर नडराउनु होला । खेल्दै जाँदा म्याच फिक्सिङका कुरा हुन्छ । धाँधली पनि हुन्छ । थुप्रै कुरा हुन्छ । खेल खतम हुनसक्छ । हामी खेल खत्तम गर्न चाहन्नौँ ।
जसले त्यहाँ गडबढ गर्छ उसलाई हामी यलो कार्ड देखाउने हो । भएन भने रेड कार्ड दिएर आउट गर्छौं । तैपनि सरकार बचिरहन्छ । तै पनि संसद बचिरहन्छ । नेपाली काँग्रेसले प्रतिपक्षीको बेन्चबाट सशक्त रुपले काम गर्ने भनिरहेकै छ । उहाँले नेपाली काँग्रेस संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षक भएको उल्लेख गर्दै त्यसका बिरुद्धमा लाग्नेलाई कारबाही गरिने चेतावनी दिनुभयो ।
प्रतिक्रिया