Breaking

एकीकृत समाजवादीमा प्रवेश गरे भुसाल, असली विरासत एकीकृत समाजवादीमा रहेको दाबी


काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका वामपन्थी नेता घनश्याम भुसालले ओलीवादका कारण धराशायी बनेको कम्युनिष्ट आन्दोलनलाई आफू प्रवेश गरेको पार्टीले अघि बढाउने बताएका छन् । एकीकृत समाजवादीमा प्रवेशका लागि आयोजित कार्यक्रममा सम्बोधन गर्दै भुसालले एकीकृत कम्युनिष्ट पार्टी र नेकपाको असली विरासत माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेको दाबी गरे ।

‘एकीकृत कम्युनिष्ट पार्टी र नेकपाको असली विरासत एकीकृत समाजवादीसँगै छ। अब ओलीवादले धराशायी बनाएको कम्युनिष्ट आन्दोलन समाजवादीले नै अघि बढाउँछ,’ भुसालले भने । एमालेले संवैधानिक सर्वोच्चता र जनताको बहुदलीय जनवादलाई ध्वस्त बनाएको भुसालले बताए । ओलीवादकै आडमा संवैधानिक सर्वोच्चता र जनताको बहुदलीय जनवादलाई ध्वस्त बनाइयो,’ भुसालले भने, ‘ओली विचार, ओली सिद्धान्त र ओली संगठनले धराशायी बनाएको कम्युनिष्ट आन्दोलनाई अब समाजवादीले सबल बनाउँछ ।

मंसिर ४ को चुनावमा एकीकृत समाजवादीले समानुपातिकतर्फ ३ लाख मत ल्याउनु चानचुने कुरा नभएको पनि भुसालले तर्क गरे । नेकपा एमालेका पूर्वउपमहासचिव भुसालले मंसिरको चुनावमा टिकट नपाएपछि पार्टी परित्याग गरेका थिए। रूपन्देही(१ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका भुसाल पराजित भएका थिए ।