Breaking

सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काउने क्यानको तयारी


काठमाडौँ— उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुनः टोलीमा सहभागी गराउने तयारी थालेको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपजस्तो खेलाडी राष्ट्रिय टोलीमा आवश्यक भएको र उनी शारीरिक तथा मानसिक रूपमा ‘फिट’ भए टोलीमा राख्ने प्रतिक्रिया दिएका छन् ।

नेपालले आगामी दिनमा आइसिसी पुरुष क्रिकेट विश्वकप डिभिजन– २ मा प्रतिस्पर्धा गर्दै छ, जहाँ नेपालले १२ खेल खेल्न बाँकी छ । बाँकी खेलका लागि लामिछानेलाई टोलीमा झिकाउने चन्दले संकेत गरेका छन् ।

आरोप लागेसँगै क्यानले लामिनेछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको थियो । ५ भदौमा तिलगंगास्थित एक होटेलमा नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै लामिछानेविरुद्ध २१ भदौमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसवेला उनी नेपाली टोलीसँगै केन्या भ्रमण थिए ।

केन्या भ्रमण बीचमै छाड्दै सन्दीप क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जमैका पुगेका थिए । क्यारेबियन लिग छाडेर लामिछाने आफूमाथि लागेको आरोपमाथि अनुसन्धान सहज बनाउन स्वदेश फर्किए ।

स्वदेश फर्कँदा उनी २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । अध्यक्ष चन्दले अदालतको आदेशको सम्मान गर्ने र लामिछाने अन्यायमा पर्न नहुने धारणा रहेको बताए ।