Breaking

३ महिना ९ दिनपछि आज थुनामुक्त हुँदै सन्दीप


काठमाडौँ— बलात्कार आरोप लागेपछि गत असोजमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने आज शुक्रबार थुनामुक्त हुँदैछन्। उच्च अदालत पाटनले २० लाख धरौटी बुझाएर रिहा गर्ने आदेश दिएसँगै उनी शुक्रबार रिहा हुने भएका छन्।

केन्द्रीय कारागार सुन्धारामा रहेका उनी २० लाख धरौटी बुझाएपछि रिहाइ हुनेछन्। जेलर ईश्वरीप्रसाद पान्डेले सन्दीपको तर्फबाट शुक्रबार धरौटी राखेर अदालतको आदेशसहित कारागार प्रशासनमा उपस्थित हुने जानकारी आएकाले शुक्रबार रिहा हुने बताए।

काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दिएको पुनरावलोकनको निवेदनमाथि उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा थुनामुक्त गरेर मुद्दाको टुंगो लगाउन आदेश दिएको हो। न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजालसले यस्तो आदेश गरेको हो। सन्दीप ३ महिना ९ दिनपछि रिहाइ हुन लागेका हुन्। १७ वर्षीया भनिएकी एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान सन्दीप गत असोज २० गते पक्राउ परेका थिए।

क्रिकेट खेल्न विदेश रहेको अवस्थामा उनीविरुद्ध बलात्कारको उजुरी परेको थियो। कतार एअरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ओर्लिएका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो। त्यसपछि उनलाई प्रहरी वृत्त गौशालामा राखिएको थियो।

ती किशोरीले २० भदौमा सन्दीपविरुद्ध प्रहरीमा बलात्कारको मुद्दा हालेकी थिइन्। त्यसको १ महिनापछि सन्दीप पक्राउ परेका थिए।