Breaking

राजदूत भित्रको राज, के आफन्तलाई राजदूत बनाएरै परराष्ट्र सम्बन्ध बिग्रिएको हो ? के भन्छन सांसदहरु ?


काठमाडौँ — बाह्य मुलुकमा मुलुकको कुटनीतिक छवि निर्माण , सम्बन्ध सुधार सहकार्य जस्ता सवालमा कुटनीतिक नियोगहरुको भूमिका महत्वपूर्ण हुन्छ । राजदुतको कुटनीतिक कौशल र क्षेत्रगत विज्ञता र दक्षताले थप अर्थ राख्छ । मुलुकको विग्रिएको कुटनीति क्षेत्रको जिम्मा सांसदहरुले राजनीतिक दलहरुलाई लगाएका छन । दलहरुले आफन्तलाई राजदुत बनाउँदा परराष्ट्र सम्बन्ध बिग्रिएको सांसदहरुको तर्क छ । कुटनीति क्षेत्र जस्तो संवेदनशील विषयलाई नेपालका शीर्ष नेतृत्वले प्राथमिकता नदिँदा अलपत्र पर्दै आएको छ ।

विदेश नीति सञ्चालन र कुटनीतिक क्षेत्रवारे नेतृत्व कति संवेदनशील छ राजदुत नियुक्तीलाई हेर्दा छर्लङ्ग हुन्छ । एकाध बाहेक अधिकांश राजदुत नियुक्ती केवल राजनीतिक भागवण्डा गरेर आफ्नो आफन्त आसेपासे पोस्ने कार्यकर्ता भर्ती गर्ने थलो बनाउँदै आएको छ । व्यक्तिको विज्ञता र दक्षता नभई केवल नेतृत्वलाई रिझाएको भरमा आर्थिक लेनदेनमा राजदुत नियुक्ती हुने परम्परा नै बसाएका छन । फलत अन्तराष्ट्रियस्तरमा मुलुकको छवि सुधार, विदेशी भूमिमा नेपालीले भोग्नु परेको समस्या समाधान वा पहल कदमी धेरै परको कुरा दुई मुलुकको सम्बन्ध सुधारमै काम गर्न असमर्थ छ ।

सायद यहि भएर होला सरकार गठनले पूर्णता नपाउँदै यस विषयमा सांसदहरुले सरकारको ध्यानकर्षण गराउन थाली सकेको छ । बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसदहरुले वैदेशिक रोजगारीमा गएका श्रमीकहरुको समस्या समाधानलाई राजदुत नियुक्तीसँग जोडेका छन् । विदेशमा श्रमिकको समस्या समधान र कार्यन्वयन गर्ने राजदुत नियूक्तमा सरकारको ध्यानकर्षण नै गराएका छन् । सांसदहरुले कुटनीति जानेको व्यक्ति राजदुतमा नियुक्त गर्न नसक्दा परराष्ट्र सम्बन्ध राम्रो बन्न नसकेको तर्क गरेका छन। सांसदहरुले राजदुत नियुक्ति गर्दा आफन्तहरु छान्नु नहुने धारणा राखेका छन ।

विदेशी लगानी नभित्र्याइकन देशलाई समृद्ध बनाउन नसकिने तर्क गर्दै वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा धेरै समस्याहरु रहेको भन्दै समस्याको समाधान गरेर अघि बढ्न सरकारलाई सुझाव समेत दिएका छन । एउटा सरकारले गरेका निर्णयहरु अर्को सरकारले तोड्ने गरेकै कारण कतिपय विकास निर्माणका गतिविधिहरुमा समस्या हुने गरेको नेकपा माओवादी केन्द्रका सांसद् जगतबहादुर पार्की बताउछन् ।

विदेशी लगानी भित्र्याउने कुरामा परराष्ट्र मन्त्रालयले नै आवश्यक नीति बनाएर अघि बढ्नुपर्नेमा समेत सांसदहरुले जोड दिएका छन । नेपाललाई आत्मनिर्भर बनाउन परराष्ट्र मन्त्रालयले आफ्नो भुमिका खेल्नुपर्ने तर्क सांसदहरुको छ । अन्तरमन्त्रालयको समन्वयमा सरकारको ध्यानकर्षण समेत गराएका छन । नेपालमा रहेका विदेशी राजदुतहरुले नेपालका राष्ट्रपति प्रधानमन्त्रीसँग सिधा सम्पर्क स्थापना गर्न सक्ने भएपनि नेपाली राजदुतहरु भने सिधा सम्बन्ध बिस्तार गर्नसक्ने स्थितिमा नहुनु राम्रो नभएको टिप्पणी सांसदहरुको छ ।

मुलुकको कुटनीतिक क्षेत्र लथालिङ अवस्थामा छ । कुटनीतिक क्षेत्रको प्रभावकारीतामाथी संधै प्रश्न उठ्दै आएको छ । दुई मुलुकको सम्बन्ध सुधार मात्र नभई आर्थिक लगानी सहकार्य समन्वय सहित वैदेशिक रोजगारीमा गएका नागरिकको समस्या समधान जस्ता सवालमा समेत कुटनीतिक नियोगको भूमिका अपरिहार्य हुँदा यसतर्फ सरकारको ध्यानकर्षण हुन जरुरी छ ।