राजनीति

बागमती प्रदेश सभा : सभामुख निर्वाचनका लागि मनोनयन दर्ता आज


काठमाडौँ – बागमती प्रदेशसभा सभामुख चयनका लागि बिहीबार मनोनयन दर्ता हुँदैछ ।

पुस १८ गते सोमबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनका लागि बिहीबार मनोनयन दर्ता गर्ने निर्णय गरेको थियो । सभामुखको निर्वाचनको प्रक्रिया पुस २७ गतेदेखि नै सुरुवात गर्ने निर्णय गरे पनि त्यसलाई संशोधन गरेर एक दिनपछि सारिएको थियो । बागमती प्रदेशसभाका सचिव कृष्णहरि खड्काले सभामुखको निर्वाचनका लागि बिहीबार बिहान १०ः३० बजेदेखि २ बजेसम्ममा मनोनयन दर्ता गराउने कार्यतालिका रहेको जानकारी दिए ।

सभामुख चयनका लागि शुक्रबार निर्वाचन हुनेछ । नेपालको संविधानको धारा १८२ को उपधारा १ बमोजिम प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यमध्येबाट सभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

प्रदेश सभा सचिवालयले बिहीबार बिहान साढे १० बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकेको छ। यस्तै, दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन फिर्ता गर्ने र ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तालिका सार्वजनिक गरेको छ । सभामुखको निर्वाचन पुस २९ गते बिहान ११ बजे हुने सचिवालयले जनाएको छ ।

प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् । बुधवार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ दलहरुबीच मुख्य पद भागबण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो ।

सातदलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठक सभामुख बन्ने निश्चितजस्तै छ । सत्तारुढ गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो । एमालेले भने आज बिहिबार मात्र दलको बैठक बसेर उपसभामुखका उम्मेदवार चयन गर्ने जनाएको छ ।

सभामुखमा राप्रपाले पुरुषलाई उम्मेदवार बनाउने भएपछि उपसभामुखमा एमालेले महिला सांसदलाई उम्मेदवार बनाउनुपर्ने संवैधानिक बाध्यता छ । संविधानअनुसार सभामुख र उपसभामुख एउटै दल र लिंगको हुनुहुँदैन ।

केन्द्रको गठबन्धनअनुसार बागमती प्रदेशमा एमाले, माओवादी केन्द्र र राप्रपाको समीकरण छ । तर, प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई केन्द्रको समीकरणभन्दा बाहिर रहेका नेकपा एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीले पनि सर्मथन गरेका थिए ।

समाजवादी र हाम्रो नेपाली पार्टी पनि माओवादी नेतृत्वको प्रदेश सरकारमा सहभागी हुने तयारीमा छ ।