Breaking

एकता दिवस सत्ता बार्गेनिङ मात्र, हिजो सालिक तोड्दै हिँड्ने आज माल्यार्पण गर्दै


काठमाडौँ — नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहको जन्मदिन पारेर आज राष्ट्रिय एकता दिवस मनाइएको छ । आफ्नो अनुकुलता अनुसार पृथ्वी नारायण शाहको व्याख्या हुँदै गर्दा यो दिवस भन्दा पनि राजनीतिक मुद्दा बन्ने गरेको छ । राजाहरुले पनि मानेको राजा पृथ्वी नारायण शाहको ३०१ ऋौं जन्मजयन्ती आज देशैभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपालमा राजा भन्ने बित्तिकै सर्वप्रथम यदि कसैको नाम आउँछ भने पक्कै पनि उनै पृथ्वी नारायण शाहको आउँछ । तिनै राजाको स्मरणमा राजधानीको सिंहदरबार अगाडी रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरिएको छ भने देशका अन्य स्थानमा पनि उनको स्मरण गरिएको छ ।

२०१२ देखि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा २७ पुसमा सार्वजनिक बिदा दिई मनाइँदै आएको भए पनि देशमा गणतन्त्र स्थापनापश्चात् सो दिवस मनाउन छोडिएको थियो । तर, भर्खरै नवगठित नयाँ सरकारले राष्ट्रिय एकता दिवस मनाउन सार्वजनिक विदा दिएको छ । हिजो कुनै काल खण्डमा पृथ्वी नारायण शाह लगायतका अन्य राजाको शालिक तोड्दै हिड्नेहरुको नेतृत्वमा बनेको सरकारले अहिले राजाको महत्व बुझेको देखिन्छ ।

बिर्सेको महत्व बुझेर विदा दिनु सकारात्मक पक्ष हो । तर, नेपाली इतिहास र देशको ठूलो गरिमा बोकेको राजा पृथ्वी नारायण शाह विभिन्न समयमा राजनीतिक दाउपेचमा परि नै रहेको छ । राजनीतिक दलको प्रयोग भएका उनी आजसम्म पनि नेताहरुले त्यही दाउपेचलाई निरन्तरता दिइरहेका छन् । राजनीतिक दल र तिनका नेताहरु आफ्नो अनुकूलमा राजा पृथ्वी नारायण शाहलाई व्याख्या गरिरहेका छन् । पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई कर्मकाण्डी मात्रै बनाई राजनीतिक मुद्धा बनाएर आफ्नो दुनो सोझ्याउने नेता धेरै छन् । यसैलाई राजनीतिक मुद्धा बनाएर राष्ट्रिय प्रजातन्त्र पार्टी सत्तामा पुग्यो ।

राप्रपाको राजनीतिक मुद्धा देखि लिएर हिजो जसको शालिक भत्काउँदै हिडे आज उसैको स्तुति गान र शालिकमा माल्यार्पण गर्दै हिड्नुले पृथ्वीनारायण शाह केबल राजनीतिक मुद्धा बनेको स्प्रष्ट छ । ज्ञानेन्द्र शाह पनि अझै पुर्खाकै भावनालाई समेट्दै पुन गद्दीमा फर्कन राजनीति दाउपेचको संकेत गरिरहेका छन् । विश्वासको मतका लागि सत्ताको बार्गेनिङ गरेर यो सरकारले दिएको विदा भोली अर्काे सरकार आउँदा नहुन पनि सक्छ ।

यो मन्त्रि परिषद् स्तरमा मात्रै भएको निर्णयका कारण एकता दिवस कति दिन टिक्ने हो प्रश्न पनि उब्जिएको छ । अहिले आफूलाई अनुकुल पर्दा सबैले आत्मसात् गरेका र एकताको भाव पृथ्वीनारायण शाह प्रति दर्शाउँदै गर्दा केही क्षेत्रिय दलहरुले भने अझै पनि उनको गरिमालाई स्वीकार्न सकेका छैनन् । जसका कारण अहिले पनि उनलाई एक समूहले थुकिनै रहेका छन् । अपवादमा यस्तो देखेको भए पनि भोलीका दिनमा अर्काे राजनीतिक दाउपेचको आधारमा पृथ्वी जयन्तीमाथि अन्याय नहोस् । आज नतमस्तक भएका यी राजनीतिक दलहरुले फेरी बदनामीको बाटो नरोजुन् ।