Breaking

ओलीकै दम्भले देउवाले बोके प्रचण्ड, संविधान रक्षा कि देउवाको प्रधानमन्त्री मोह ?


काठमाडौँ — नेपाली कांग्रेसले विश्वासको मत दिँदा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड दुई तिहाईभन्दा बढीको समर्थनमा प्रधानमन्त्रीमा अनुमोदित भए । तर संसदीय इतिहासमै प्रधानमन्त्री प्रचण्डले प्राप्त गरेको असाधारण समर्थनको चर्चा जति छ त्यो भन्दा धेरै सदनको ठूलो दल नेपाली कांग्रेस यत्तिबेला आलोचना र नैतिक प्रश्नको घेरावन्दीमा छ । लोकतान्त्रिक अभ्यासमा सदन नै प्रतिपक्ष विहिन बनाएर आखिर कांग्रेसले प्रचण्डलाई किन समर्थन गर्यो त ।

मंसिर चारमा सम्पन्न चुनावमा ३२ सिटमा खुम्चिए पनि संसदीय अंक गणितमा माओवादी केन्द्र निर्णायक बन्यो । यहि कसिमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद अन्तिम विकल्प बनाए । प्रचण्डको यो हठ संसदको ठूलो दल बनेपछि कांग्रेस सभापति शेर बहादुर देउवालाई पाच्य भएन । एकतिर गठबन्धनको जोडवल अर्कोतिर सदनको दोस्रो ठुलो दल एमाले अध्यक्ष के.पी शर्मा ओली देखाएर प्रचण्ड तह लगाउने र पहिला आफु प्रधानमन्त्री बन्ने दाउमा देउवा रहे । तर विडम्वना देउवाको योजनामा तुसरापात भयो ।

प्रधानमन्त्री बन्ने सर्तमा प्रचण्डले नयाँ सत्ता समिकरण बनाए । प्रचण्डले कित्ता परिवर्तन गर्नसाथ ठुलो दल कांग्रेस प्रतिपक्ष बन्यो । देउवाको प्रधानमन्त्री बन्ने हठका कारण सदनको ठूलो दल भएर पनि केन्द्रदेखि प्रदेशमा समेत कांग्रेसले सत्ताबाट हात धुनु प¥यो । सर्वश्व गुम्यो । सभापति देउवा एकाएक सबैको नजरमा आँखाको तारो बने । सत्ता गुमेको पिरलो नमेट्दै पुन पार्टीगत निर्णय नै गरेर मंगलबार सदनमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए । महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा लगायतका नेताहरुले फरक मत राख्दा राख्दै, यसअघि प्रचण्डलाई प्रधानमन्त्री अस्वीकार गर्ने सभापतिले पार्टीगत निर्णय नै गराएर प्रचण्डलाई विश्वासको मत दिन लगाए ।

यत्ति बेला कांग्रेसले विश्वासको मत दिनुलाई नयाँ सत्ता समिकरण भत्काउने र राष्ट्रपति सभामुख जस्ता पदहरुमा बार्गेनिङ गर्ने स्वार्थ लुकेको छ । सत्ताकै लोभले संसद प्रतिपक्ष विहिन बनाएको आरोप पनि कांग्रेसलाई लागेको छ । तर कांग्रेस यो स्वीकार गर्न तयार छैन । संविधानको रक्षाका लागि मात्र प्रधानमन्त्रीलाई समर्थन गरेको दावी छ ।

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएसँगै सदन प्रतिपक्ष विहिन बनेको छ । यो अवस्थालाई लिएर कांग्रेसभित्रै कांग्रेस आलोचित छ । लोकतान्त्रिक अभ्यासको मसिहा कांग्रेसले यसअघि प्रचण्डले सभापति देउवालाई प्रधानमन्त्री बनाएको गुण तिर्नकै लागि जवरजस्त समर्थन गरेको हो अथवा अन्य साँठगाँठ पनि छभन्ने प्रश्न पनि टड्कारो रुपमा उठेको छ । यसको औचित्य आगामी दिनमा पुष्टि गर्नुपर्ने बाध्यता कांग्रेसमा छ ।