देश

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको एकिकृत कारोबार


काठमाडौँ — अबको केही वर्षपछि वाणिज्य बैंकहरूको संख्या घटेर बढीमा ७ देखि ८ वटामा सीमित हुने नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बताएका छन् । अहिले पहिलो चरणको मर्जर भइरहेको र यो क्रम दोस्रो चरणसम्म पुग्दा बैंकको संख्या घटेर ७/८ वटामा कायम हुने उनको तर्क छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकले मेगा बैंकलाई गाभेपछिको एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा बुधबार पाँडेले यस्तो बताएका हुन् । कार्यक्रममा पाँडेले बैंक जति ठूलो भयो त्यति नै बलियो र निक्षेप पनि सुरक्षित हुने बताए । ‘बैंक ठूलो भएपछि टु बिग टु फेल हुन्छ भन्ने भनाइ पनि छ, म त्यसको पक्षमा छैन,’ उनले भने, ‘सबै सेयरधनी आर्थिक संकटमा परेको अवस्थामा मात्र बैंक फेल हुन्छ र नेपालमा त्यो सम्भव छैन ।’

मेगा बैंकसँग गाभिएपछिको नयाँ बैंक ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’को नामबाट सञ्चालनमा आएको छ । इन्भेस्टमेन्ट बैंकको ९० कित्ता सेयर बराबर मेगा बैंकको १ सय कित्ताका दरले यी बैंक गाभिएका हुन् । गाभिएपछि बनेको नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी ज्योति प्रकाश पाण्डेले पाएका छन् । यस्तै बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे नै चुनिएका छन् । दुबै जना इन्भेस्टमेन्ट बैंकबाट प्रतिनिधित्व गर्छन् ।

मर्जरपछि बैंकको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ नाघेको छ । चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ र कुल पुँजी ५८ अर्ब रुपैयाँ भन्दा बढी छ । यस्तै, ग्राहक संख्या ३० लाख, बैंकको कुल निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ र कुल कर्जा ३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । अब बैंकले २ सय ९६ वटा शाखा, ५८ वटा एक्सटेन्सन काउन्टर र २ सय ७९ एटीएममार्फत मुलुकभर वित्तीय सेवा प्रवाह गर्नेछ ।