Breaking

पूर्वराजा ज्ञानेन्द्रको कटाक्ष : हाम्रो राजनीति अंक तथा आकारप्रकारमा अलमलिएको छ


काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली राजनीति विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक तथा आकारप्रकारमा अलमलिएको टिप्पणी गरेका छन् ।

पृथ्वीनारायणनारायण शाहको ३०१औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले वर्तमान राजनीतिक परिपाटीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । यसमा पुनरवलोकन गरिनुपर्ने जिकिरसमेत उनले गरेका छन् ।

‘विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक तथा आकारप्रकारमा हाम्रो राजनीति अलमलिएको छ’, शुभकामना सन्देशमा उनले भनेका छन्, ‘त्यसैले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक देखिन्छ ।’

यस्तो छ पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तिको पूर्णपाठ
छिन्नभिन्न विभाजनमा परेको नेपाल राष्ट्रको एकीकरण गरेर सिंगो र सबल आकार दिने श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह नेपाली इतिहासमा सदा स्मरणीय होइबक्सन्छ । नेपालमा एकता, अखण्डता, सामाजिक सद्‌भाव र सार्वभौमिक सर्वोच्चता दुर्बल हुँदै गएको यो समयमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको छ ।

हामीले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहका दिव्योपदेशहरूलाई आत्मसाथ गर्दै मौशुफले दर्शाइवक्सेको मार्ग दर्शनलाई अनुसरण गर्न सकेमा मात्र हाम्रो इतिहास र भविष्य तथा नेपालीको स्वाभिमान सुरक्षित एवं संरक्षित हुन सक्छ भन्ने विश्वास लिएका छौं। वर्तमान अवस्थामा हामी धेरै नै परमुखी, परनिर्भर र परावलम्बी हुँदै गएका छौं । राष्ट्रको माटो, प्रकृति र आफ्नै प्रकारको प्रगति हाम्रा निम्ति प्रिय हुनुपर्दछ। हामी चाहन्छौं – देश आफ्नै बाहुबलमा अघि बढोस्, राष्ट्र आफ्नै मौलिक मान्यतामा अघि बढोस्, सबै यत्न(प्रयत्न गतिविधि आफ्नै शैली ढाँचा तथा प्रक्रियाबाट अघि बढोस् ।

राष्ट्रियताबिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुन्छ भन्ने हामीले ठानेका छौं। सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन । विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक तथा आकारप्रकारमा हाम्रो राजनीति अलमलिएको छ । त्यसैले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक देखिन्छ । राजनीतिक उतारचढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्थाको मौलिक विशेषता हो । राष्ट्र, राष्ट्रियता र जनहितप्रति समर्पित रहँदै समन्वयकारी जिम्मेवारी पूरा गर्न शाहवंशीय राजसंस्था कहिले चुकेको छैन । हरेकका आआफ्ना राष्ट्रिय अवधारणा, अनुभूति र चासो चिन्ताका विषय सुन्न, बुझ्न हामी सदैव तत्पर रहेका छौं ।

जय नेपाल