Breaking

सुदूरपश्चिममा सभामुखको मनोनयन आज


काठमाडौँ – सुदूरपश्चिममा मंगलबार प्रदेश सभाको सभामुखका लागि मनोनयन दर्ता हुने भएको छ ।

प्रदेश सभा सचिवालयले निर्वाचन प्रयोजनका लागि जारी गरेको सूचनाअनुसार मंगलबार बिहान साढे १० देखि दिउँसो साढे २ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने समय दिइएको छ ।

निर्धारित समयभित्र सभामुखमा उम्मेदवारी दिने विषयमा दलहरू आन्तरिक छलफलमा जुटेका छन् । एमाले नेतृत्वको गठबन्धनमा भागबन्डाका क्रममा सभामुख पाउने माओवादी केन्द्रले अहिलेसम्म उम्मेदबारको विषयमा टुंगो नलागेको जनाएको छ ।

माओवादीमा प्रदेश सभा सदस्य अक्कल रावललाई सभामुखको उम्मेदवार बनाउने तयारी रहेको स्रोतको भनाइ छ तर रावल स्वयंमले भने सभामुखमा इच्छा देखाएका छैनन् । उनी मन्त्रीपरिषदमा सहभागी हुने पक्षमा छन् ।

नेपाली कांग्रेसले पनि प्रदेश सरकार गठन र सभामुखको उम्मेदवार मनोनयनका सम्बन्धमा छलफल गर्न दलको बैठक बोलाएको छ ।

सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय आजै साँझ ५ बजे सकिंदैछ भने सभामुखको निर्वाचन भोलि दिउँसो १ बजे हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।