Breaking

प्रचण्डको अपार सफलता, देउवा मिल्नु डरलाग्दो संकेत, ओलीको ठेगान लगाउन प्रचण्डको चाल, पल्ला पल्टिने जोखिम


काठमाडौँ — इतिहासमा कमैले पाउने अवसर पाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको विश्वास जितेका छन् । प्रचण्डले संसदको ९९ प्रतिशतभन्दा बढी मतले विश्वास जितेसँगै संसद सत्तापक्षकै बनेको छ । तर विश्वास कतिञ्जेल टिक्ला भन्नेमै शंका पनि देखिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रचण्ड बहुमतका साथ संसदको विश्वास जित्न सफल भए । अस्थिर संसदको अंकगणितमा सरकार गठनको कठिन परिस्थिति आइपर्छ भन्ने आकलनकै बीच प्रधानमन्त्री प्रचण्डको पक्षमा संसदमा उपस्थिति २७० सांसदमध्ये २६८ जनाले विश्वासको मत दिएका छन् । इतिहासमा कमैले पाउने ऐतिहासिक अवसर प्रचण्डले पाएका हुन् । मात्र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालबाहेक सबैले प्रचण्डमाथि विश्वास खन्याएका हुन् ।

विश्वासको मत पाउनुअघि सहमति, सहकार्य र एकता कायम गर्दै राष्ट्रका चुनौतीहरुको सामना गर्ने र समृद्धिको दिशामा अघि बढ्ने प्रतिवद्धता जनाएका प्रचण्डलाई संसदका सबैले विश्वासको मत खन्याएका हुन् । उनले प्रत्येक पटक संसदमा प्रगति विवरणसहित उपस्थिति हुने विश्वाससमेत जनाएका छन् । प्रचण्डले विश्वासको मत मागेसँगै प्रतिपक्षी कित्तामा बस्ने आकलन गरिएको काँग्रेसले समेत विश्वासको मत दिएको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन नमान्दा सत्ताको सबै गुमाएका देउवाले संसदमा आफै उपस्थिति भएर प्रचण्डका लागि विश्वासको मत दिएका हुन् । विश्वासको मत दिएरै प्रतिपक्षमा बस्ने देउवाको कदमले अनेक शंका भने उब्जाएको छ । किनकि विश्वासको मत पाउनुअघि सोमबार प्रधानमन्त्री प्रचण्ड देउवाकै निवासमा पुगेर भेटवार्ता गरेका थिए । जहाँ देउवाले प्रधानमन्त्री नदिएर आफुले गल्ती गरेको भन्दै प्रचण्डसँग क्षमायाचनाको भाव देखाएका थिए । अहिले एकाएक विश्वासकै मत दिने तहमा पुग्नुलाई दुबैबीच लेनदेनको आन्तरिक सहमति भएको हुनेसक्ने तर्फ विश्लेषण गरिएको छ ।

प्रचण्डलाई प्रधानमन्त्री दिएर गठबन्धनको सुत्राधार बनेका एमाले अध्यक्ष ओली भने यो अपार सफलतासँगै झस्किएका छन् । किनकि ओली प्रचण्ड नेतृत्वको एमाले सरकार बनाउने नीतिमा थिए । सरकार बनेयता ओलीकै पेलानमा रहेका प्रचण्ड अब भने काँग्रेसले समेत विश्वासको मत दिएसँगै केही विकल्प केन्द्रीत बनेका छन् । तर सदनमा ओलीले प्रचण्डलाई विश्वासको मत दिनु नपर्ने कुनै कारण नभएकाले देउवालाई ब्यङय गर्दै काँग्रेस पनि राप्रपाकै लाइनमा उभिएको कटाक्ष गरेका थिए ।

प्रचण्डले संसदको बलियो विश्वास जितेपछि काँग्रेस नेतृत्वको गठबन्धन टुटे लगत्तै किनाराकृत भएका माधव नेपाल भने बलियो दम्भसहित प्रस्तुत भएका छन् । प्रचण्ड र देउवाप्रति नरम देखिएका माधव ओलीप्रति आक्रामक मात्रै भएनन् कि घुमाउरोशैलीमा प्रचण्डलाई संसद विघटन ठिक हो भन्ने पक्षमा सही थापेर मतियार नबन्न आग्रह गरे । ओलीकै आड भरोशामा पर्दा सकिन्छस् भन्ने डर पनि देखाए ।

शान्ति सम्झौता यता राष्ट्रिय राजनीतिको मियो बनेका प्रचण्ड यतिबेला सबको साझा, सबको रोजाई बनेका छन् । यद्यपी शंकैशंकाका बीच सहयात्री बनेकाहरु सबै सुरक्षित देखिन्छन् तर सबै जोखिममा छन् । सरकारको नेतृत्व गर्ने परिकल्पनासहित देउवाले प्रचण्डलाई समर्थन जनाएका बेला बलियो बहुमत पाएका प्रचण्डले राष्ट्रपतिकै निर्वाचनमा तलमाथि गर्छन कि भन्ने शंका ओलीमा उत्पन्न भएको छ । फलतः अहिले विश्वासको मत खन्याएकाहरुले राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा विश्वासघात गर्ने अवस्था बन्ला कि भन्नेतर्फ ध्यान मोडिएको छ ।