Breaking

प्रधानमन्त्रीसहित चार वटै सुरक्षा निकायका प्रमुख गोरखा जाँदै


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित चार वटै सुरक्षा निकायका प्रमुख बुधवार गोरखामा जाने भएका छन् । प्रधानमन्त्री दाहाल बुधवारदेखि सुरु हुने ११ औँ गोरखा महोत्सवको उद्घाटन गर्न जान लागेको हो । यस्तै ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा सदरमुकामको ठूलो आँगनमा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण तथा राष्ट्र निर्माता सलामी शुभारम्भ गर्न नेपाली सेनाका प्रमुख प्रभुराम शर्मा पनि गोरखा जान लागे हो ।

साथमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एवम् मुख्य अनुसन्धान निर्देशक हुत्तराज थापा पनि सहभागी हुने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।

प्रधानमन्त्री प्रचण्ड महोत्सव उद्घाटनका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसहित दिउँसो १२ देखि १ बजेको समयमा हेलिकप्टरमार्फत जाने छ । सुरक्षा निकायका प्रमुखहरू भने दिउँसो ३ बजे हुने सालिक अनावरण कार्यक्रमका लागि त्यसको झन्डै एक घण्टाअघि हेलिकप्टरबाटै गोरखा सदरमुकाम जाने कार्यक्रम रहेको उहाँले जानकारी दिए ।