देश

पोखरा महानगरपालिकाका वडाध्यक्ष पक्राउ


काठमाडौँ — आफ्नै वडा सदस्यलाई जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा पोखरा महानगरपालिकाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगर वडा नं. २५ का वडाध्यक्ष भरतबहादुर अधिकारी छन् । गएको आइतबार जातीय विभेदजन्य गालीगलौज गरेको उजुरी परेपछि मंगलबार बिहान अधिकारीले आफैं प्रहरी कार्यालयमा उपस्थित भएर गिरफ्तारी दिएको जिल्ला प्रहरी कार्यालय कास्की निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

पोखरा २४ कि दलित वडासदस्य मैया नेपालीले आफूलाई विभेदजन्य गालीगलौज गरेको भन्दै आइतबार उनीविरुद्ध जाहेरी दिएकी थिइन् । वडाध्यक्ष अधिकारीले ‘तेरो परिवारको हैसियत के हो वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्’ जस्तो अपमानजनक शब्द प्रयोग गरेको भन्दै कारबाहीको माग गर्दै नेपालीले उजुरी दिएकी थिइन् ।