Breaking

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले लिए शपथ


काठमाडौँ – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज (मंगलबार) बिहान शपथ लिएका छन् ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा बिहान ९ः५० बजे जमकट्टेललाई शपथ खुवाएका हुन् ।

मुख्यमन्त्रीले शपथ लिए लगत्तै नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका छन् ।

मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूका विचमा छलफल गरेर टुंग्याइने मुख्यमन्त्री जमकट्टेलले बताए । उनले बागमती प्रदेशमा बढीमा ११ वटा मन्त्रालय बनाइने बताएका छन् । पछिल्लो मन्त्रिपरिषदमा बागमती प्रदेशमा १४ मन्त्रालय थिए । ४ राज्यमन्त्रीसहित १८ मन्त्री भएपछि प्रदेश सरकारको आलोचना हुँदै आएको थियो ।

माओवादी केन्द्र संसदीय दलका नेता जमकट्टेल आफ्नै दलका २१ सांसद, नेकपा एमालेका २७ सांसद, राप्रपाका १३ सांसद, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरी जम्मा ७० जना सांसदको समर्थन पाएर सोमबार दिउँसो मुख्यमन्त्री नियुक्त भएका थिए ।