Breaking

टेलिभिजनको पर्दादेखि सदनसम्म रवि, केपी ओलीले गरे सदनमा रविको तारिफ, माधवलाई कटाक्ष


काठमाडौँ — संघीय संसद्का दुवै सदनको अधिवेशन सोमबारबाट सुरु भएको छ । पहिलो अधिवेशनमा नवनिर्वाचित सांसद रवि लामिछानेको उपस्थिति र उनले बोलेका विषय चासो र चर्चामा छ । सात महिना अघिसम्म जनताका घर–घरका टेलिभिजनमा कार्यक्रम सञ्चालकको रुपमा प्रस्तुत हुने हालका गृहमन्त्री रवि लामिछाने सोमबार भने सदनमा फरक हैसियत र फरक शैलीमा प्रस्तुत भए ।

जनताका जनजीविकाका विषयलाई नै सञ्चारमाध्यमको केन्द्र बनाएर भुईमान्छेको मन जितेका गृहमन्त्री लामिछानेले आज पहिलो पटक संसद्को रोष्टम अगाडी उभिएर सम्बोधन गरे । सञ्चारकर्ममा हुँदा आफ्नो कामले चर्चित भएर छोटो समयमा नै सदनको ढोका खोल्न सफल उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई आएको मत आशाको भएको बताएका छन् । अन्य दलका नेताले निराशाको मत भनिरहँदा उनले भने यो मत जनताले बजाएको घन्टीको ध्वनी भन्दै गर्जिए ।

जनताको हुटहुटी बनेर पार्टी खोल्दै सदनको यात्रा तय गरेका गृहमन्त्रीलाई सभामुखले १० मिनेटको समय दिएका थिए । दिएको समयभन्द ३ मिनेट बढी बोलेका उनले भ्रष्टचारीलाई नछोड्ने र उनीहरु विरुद्ध निर्मम भएर लाग्ने बताए । कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाव नदिन राजनीतिक दललाई आग्रह गरेका उनले छातिमा हात राख्दै जनताको मतलाई कदर गर्दै आफ्ना पार्टीका सांसदलाई रोजेकोमा पछुतो हुन नदिने वचन दिए ।

मन्त्री हुनुभन्दा अघि देखि नै विवादै विवादको सामना गरिरहेका उनीबाट जनताले ठूलो आश राखेका छन् । नागरिकताको विवादलाई उचालिरहँदा आफ्नो पार्टीबाट पाएको साथ र हौसलाका साथै अन्य दलले पनि रास्वपाको उदयलाई जनताले चाहेको परिवर्तनको संज्ञा दिएको छ । एमाले अध्यक्ष ओलीले रविको सफलतालाई इंगित गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई व्यंग्य गरेर धेरैले नयाँ पार्टी खोले पनि जनतालाई परिवर्तन गर्न सक्ले पार्टीलाई नै रोजेको कटाक्ष गरेका छन् ।

टेलिभिजनको पर्दा देखि संसद्को पहिलो बैठकसम्म आइपुग्दा गृहमन्त्री लामिछानेको काधमा ठूलो जिम्मेवारी आएको छ । उनले टेलिभिजन कर्ममा रहेको बेला भनेझै लिपुलेक र कालापानी फिर्ता ल्याउन दिल्ली वा दार्चुला कहाँबाट हुन्छ त्यही समाधान खोज्र्नु पर्ने छ । आम भुईमान्छे र सडकको आवाजसदनमा अनुमोदन गर्नु पर्ने चुनौती छ । आशा, निराशा, चुनौती, अवसर र विवादकाबीच उनको यो सफलता व्यक्तिगतमा नै सीमित हुन्छ या देशका लागि पनि ? यो उनको आगामी कार्यकाले निर्धारण गर्नेछ ।