Breaking

सन्दीप लामिछानेविरुद्धको बयान पूरा,अस्पतालले पठायो १८ वर्ष पूरा भएको रिपोर्ट


काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बयान पूरा भएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतमा देव खनाल र किशोरीको स्वास्थ्य परीक्षणमा संलग्न डाक्टरले अदालतमा बयान दिएका थिए । अदालतमा देव खनालले सन्दीपलाई भेटाउन किशोरीले नै आग्रह गरेपछि आफूले सोहीअनुसार भूमिका खेलेको बताएका छन् । यद्यपि, उनले आफ्नो कुनै फरक उद्देश्य नरहेकोसमेत दाबी गरेका छन् । उनले अदालतमा भने, ‘मलाई केटीले नै सन्दीपसँग भेटाइदिन आग्रह गरेपछि सोहीअनुसार प्रयास गरेको थिएँ । मैले आफ्नोतर्फबाट सन्दीपलाई केटीको आग्रहबारेमा जानकारी गराएको हो ।’

त्यस्तै, अदालतमा किशोरीको स्वास्थ्य परीक्षणमा संलग्न डाक्टरले पनि बयान दिएका छन् । उनले अदालतमा किशोरीलाई कुनै चोटपटक आफूले नदेखेको बताए । साथै उनले आवश्यक चेकजाँचपछिको रिपोर्टमा जे उल्लेख हो त्यही नै रिपोर्टमा देखिएको बताए । सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले बयानको क्रम सकिएको बताए । उनले भने, ‘अदालतमा दुई जनाको बयान बाँकी थियो । आज पूरा भएको छ।’

अस्पतालले पठायो १८ वर्ष पूरा भएको रिपोर्ट

अदालतको मागबमोजिम नारयणी उपक्षेत्रीय अस्पतालले अस्पतालमा भएको रेकर्डअनुसारको जन्ममिति पठाएको छ। अस्पताल स्रोतका अनुसार उनको जन्म २०६१ साल जेठ १८ गते भएको हो । पीडित किशोरी नाबालिग हो या होइन भन्ने विषय प्रवेश गरेपछि अस्पतालबाटै अदालतले उनको कागजात माग गरेको थियो । सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले आफूले आधिकारिक रुपमा अस्पतालबाट आएको कागजात नहेरेको बताए । उनले भने, ‘अस्पतालबाट डकुमेन्ट आएको हो भन्ने सुनेको छु । तर उमेर कति पठाएको छ भनेर आधिकारिक रुपमा हेरेको छैन ।’