Breaking

मन्त्री हुँदा थाकेको छु लोकल भाले र कोदोको रक्सी खाँदाखाँदा थाकें, २ वर्षपछि मुख्यमन्त्री खान्छु: दीपक मनाङे


काठमाडौँ — गण्डकीमा एमाले नेता खगराज अधिकारीलाई मुख्यमन्त्रीमा समर्थन दिएका सांसद राजीव गुरूङ ‘दीपक मनाङे’ले २ वर्षपछि आफू मुख्यमन्त्री बन्ने दाबी गरेका छन्। अहिले म मन्त्री बन्दिनँ, खगराज दाइले २ वर्ष खान्छ, त्यसपछि म खान्छु,’ उनले भने, ‘१८ महिनामै १० वर्षको बजेट हाल्न पाउने रैछ, किन ५ वर्ष खानुपर्‍यो।’ नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको सपथ ग्रहण समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद मनाङेले आफू अहिले मन्त्री बन्ने दौडमा नरहेको बताए।

मन्त्री हुँदा थाकेको भन्दै ४,५ महिना आराम गर्ने उनले बताए। सरकारमा राप्रपा पनि छ, भोलि राजा ल्याऊँ भन्ला कहाँबाट ल्याउने राजा’ उनले भने, ‘त्यसपछि राप्रपा भाग्छ, फेरि सरकार बनाउँदा मेरो पालो आउँछ। १८ महिना मन्त्री हुँदा थाकेको छु लोकल भाले र कोदोको रक्सी खाँदाखाँदा यति थाकें,’ उनले भने, ‘भाले र रक्सी खुवाइ खुवाइ खत्तम बनाउन लागिसके।’

गण्डकीमा युवा तथा खेलकुद मन्त्री बनेका मनाङे मनाङबाट प्रदेश सभा सांसदमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएका थिए। उनी केही समयअघि मात्र नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका थिए।