Breaking

प्रधानले राखेको विद्युतीय हाजिरीको माग पूरा, देखिएला सदनमा परिवर्तन ?


काठमाडौँ — संघीय संसद्का सांसदका लागि पहिलोपटक विद्युतीय हाजिरीको व्यवस्थापन गरिएको छ ।

संसद् सचिवालयले राष्ट्रिय सभामा विद्युतीय हाजिरी लागू गर्न परीक्षण थालेको हो । प्रतिनिधिसभामा भने सभामुख चुनिएपछि व्यवस्थापन गरिने सचिवालयले जनाएको छ । सांसदले यसअघि हाजिरी पुस्तिकामा हाजिर गर्दै आएका थिए । संसद्लाई पेपरलेस बनाउने अभियानअन्तर्गत विद्युतीय हाजिरी व्यवस्थापन गरिएको सचिवालयले जनाएको छ ।

हाल सचिवालयले राष्ट्रिय सभा सदस्यहरूको फिंगर प्रिन्ट लिँदै विद्युतीय हाजिरी परीक्षण गरिरहेको छ । अधिवेशन आह्वासँगै राष्ट्रिय सभामा सांसदको विद्युतीय हाजिरी प्रारम्भ हुँदै छ भने प्रतिनिधिसभामा सभामुख चयनपछि कार्यान्वयनमा आउने सचिवालयले जनाएको छ । अघिल्लो ११औं अधिवेशन अन्तिम बैठकमा नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले सांसदहरुका लागि विद्युतीय हाजिरीको माग गरेको थियो ।

प्रधानले प्रतिनिधि सभाको अन्तिम बैठक बोल्दै नेपालको संसदीय अभ्यासमा पहिलो अर्थात् विसं २०१६ को संसद् जस्तो हार्दिकतापूर्ण, गम्भीर छलफल र बहस त्यसपछिका सदनमा हुन नसकेको टिप्पणी गर्नु भएको थियो । पछिल्ला अधिवेशन बैठकमा जनप्रतिनिधि सदनमा आउने तर उपस्थिति जनाएर अन्यत्र हिँड्ने प्रवृदिले बढेको भन्दै विद्युतीय हाजिरीको व्यवस्था हुनु पर्ने माग राखेको थियो ।

सदन र संसदीय समिति बैठकमा जनप्रतिनिधिको आवश्यक न्यूनतम सख्य नपुगेर बैठक स्थगन भएका खबर मतदाताले निरन्तर सुन्दै–पढ्दै आएका छन् । जनप्रतिनिधिले विधेयक र प्रस्तावमाथि गहन रुपमा छलफल र बहस नगरी बनेका कानुन र लिएका निर्णय गुणस्तरीय हुन नसक्ने भन्दै प्रतिनिधि सभाका प्रधानको तर्क छ ।

सांसदको मुख्य जिम्मेवारी भनेको सदनमा उपस्थित भई विधि निर्माणमा भाग लिनुपर्नेमा बैैठक नै छाडेर कहाँ जान्छन् भन्ने प्रश्न सधैँजसो उठ्ने गरेको छ । बैठकमा प्रवेशपूर्व कागजी हाजिरी जनाएर सांसदहरू आफ्नो मूल जिम्मेवारीभन्दा बाहेकका अरू नै काममा लाग्ने, अन्य कक्षमा गई गफ गर्ने, चिया–कफी पिएर घन्टौँ समय बिताउने, घाम ताप्ने, सामाजिक कार्यहरूमा संलग्न हुने प्रवृत्ति रहिआएकले यसको अन्त्य गर्न संसाद प्रधानले विद्युतीय हाजिरको माग गरेको थियो ।

सदनका बैठक ‘कोरम’ नपुगेर स्थगन हुने तर विधायक भने गैरसरकारी संस्थाका कार्यक्रममा खचाखच हुने कार्य लोकतान्त्रिक शासन व्यवस्थामा शोभनीय नभएको प्रधान बताउँछन् । पछिल्ला बैठकमा कानुन निर्माताको आवश्यक उपस्थिति नपुग्ने, विधेयक र प्रस्तावमाथिको छलफल प्रभावकारी नहुने जस्ता समस्या निरन्तररूपमा रहिआएको छ । सांसदको उपस्थितिको विवरण वेबसाइटमाफर्त सार्वजनिकसमेत हुँदै आएको छ ।

प्रतिनिधिसभाका पूर्वसदस्य भीमसेनदास प्रधान सांसदले नीति– विधि बनाउने कि गैरसरकारी संस्थाका कार्यक्रमा भाषण गर्न वा कुलो खन्न जाने भन्ने विषय छुट्याउन नसक्दा बैठक कक्षका कुर्सी रित्ता देखिने बताउँछन् । सचिवालयले हालसम्म सांसदलाई बैठक सकिएको एक घन्टासम्म हाजिर गर्ने सुविधा प्रदान गर्दैआएको छ । विद्युतीय हाजिरको व्यवस्थापन भएपछि प्रतिनिधिसभाका सदस्यहरुले सदन र संसदीय समितिलाई कति समय प्रदान गर्छने भन्ने स्पष्ट भई बैठक सकिएपछि भत्ताका लागि आएर हाजिर गर्ने चलन अन्त्य हुनेछ ।

संसद्का काम कारबाहीलाई सशक्त र प्रभावकारी तुल्याउन यस्ता नयाँ औजार महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ । सदनमा होस् वा समितिका बैठकमा, प्रमुख दलका शीर्ष नेताकै उपस्थिति न्यून हुने प्रवृत्तिले खल्लो तुल्याएको छ । उनीहरू अनुपस्थित हुँदा समयमै लिनुपर्ने निर्णय हुन नसकी विषयवस्तुलाई निष्कर्षमा पु¥याउन तगारो लाग्ने गरेको छ ।

विगतमा धेरै सांसद संसद् र समिति बैठकमा नआइदिने र आएपछि तुरुन्तै निस्किने खालको विकृतिलाई रोक्न सघाउ पुग्ने प्रधानको विश्वास छ । प्रतिनिधिसभा र त्यसका समितिका कोरम नपुग्ने, बैठक नै पटक–पटक स्थगित हुने अवस्था भएकाले विद्युतीय हाजिरीले सांसदलाई उत्तरदायी बनाउने पूर्वसदस्य प्रधानको धारणा छ ।