Breaking

ब्राजिलको संसद् भवनमा हजारौं जना छिरेर आक्रमण (भिडियोसहित)


काठमाडौँ – दक्षिणपन्थी नेता जैर बोल्सोनारोका हजारौं समर्थकले आइतबार ब्राजिलको संसदमा आक्रमण गरेका छन् । जनताले सर्वोच्च अदालत र राष्ट्रपति निवासलाई समेत घेरा हालेका छन् ।

ब्राजिलको फुटबल टिमको जर्सी लगाएका हजारौं प्रदर्शनकारी हातमा झण्डा लिएर संसदमा प्रवेश गरेका थिए । केही व्यक्तिहरू स्पिकरको मञ्चमा चढेर प्रदर्शन गरिरहेका देखिए ।

केही प्रदर्शनकारीहरू संसदको छतमा चढेर झ्यालका सिसा तोडेका थिए । भीषण झडपपछि प्रहरीले आइतबार साँझसम्म राजधानी ब्रासिलियाका महत्वपूर्ण भवनहरू आफ्नो नियन्त्रणमा लिएको थियो ।

राष्ट्रपति लुला दा सिल्भाले यसलाई ‘फासिस्ट आक्रमण’ भनेका छन् । ब्राजिलमा आइतबार भएको हिंसापछि २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटल भवनमा भएको यस्तै झडपको सम्झना जनताको मनमा ताजा भएको छ । त्यसबेला डोनाल्ड ट्रम्पका समर्थकहरूले क्यापिटल भवनमा आक्रमण गरेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत धेरै ठूला व्यक्तित्वले हिंसाको निन्दा गरेका छन् । गत हप्ता मात्रै ब्राजिलको राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेका लुला दा सिल्भाले पूर्वराष्ट्रपतिका समर्थकहरुलाई कडा कारबाही गर्ने वाचा गरेका छन् ।

यसअघि लुला दा सिल्भाले ट्विट गर्दै भनेका थिए, ‘हामी सरकार गठनमा व्यस्त छौं र आइतबार उनीहरूले हाम्रो मौनताको फाइदा उठाए र तपाईंलाई थाहा छ – पूर्व राष्ट्रपतिका धेरै भाषणले यसो गर्न उक्साउँछ । यो उहाँको पार्टी र उहाँको जिम्मेवारी हो ।’

ब्राजिलका न्यायमन्त्री फ्लाभियो डिनोले स्थानीय मिडियासँग अहिलेसम्म दुई सय जनालाई पक्राउ गरिएको बताएका छन् । बोल्सोनारोले गत वर्ष अक्टोबरमा भएको निर्वाचनको नतिजा स्वीकार गर्न निरन्तर अस्वीकार गरिरहेका छन् । उनी गत हप्ता लुला दा सिल्भाको सपथ ग्रहण समारोहमा पनि सहभागी भएनन् । तर, ६७ वर्षीय बोल्सोनारोले उक्त हिंसाबाट आफूलाई अलग्याउँदै घटनाको निन्दा गरेका छन्। बोल्सोनारो हाल अमेरिकामा छन् । बीबीसी