काठमाडौँ—मानिसका चाहना अनेक हुन्छ । कतिपयका चाहना अनौठा पनि हुन्छन् । ती मध्येका एक हुन् पाकिस्तानीको क्वेटाका ५० वर्षीय सरदार जान मोहम्मद खान खिलजी । उनले ६० औं सन्तानलाई स्वागत गरेसँगै यतिबेला सामाजिक सञ्जाल तातिएको छ ।
आधुनिकतासँगै समाज सानो परिवारतर्फ आकर्षित छ । बालबच्चा कति भन्ने प्रश्नमा स्वाभाविक जवाफ आउँछ–१ वा २ । अझ धेरै भए ३ । तर, समाजलाई नै आश्चर्यचकित पार्ने गरी पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाका ५० वर्षीय सरदार जान मोहम्मद खान खिलजीले ६० औँ सन्तानलाई स्वागत गरेका छन् ।
ती मध्ये ५ जनाको मृत्यु भएको छ भने ५५ जना स्वस्थ छन् । उनले ३ वटा पत्नीबाट यी सन्तान जन्माएका हुन् । उनको यो यात्रा यही रोकिनेवाला छैन । उनका तीन श्रीमती अझै थप बच्चा जन्माउने प्रतीक्षामा छन् । उनी थप सन्तानका लागि अर्की पत्नी पनि खोजिरहेका छन् । सय वटा बच्चाको बुबा बन्ने उनको लक्ष्य छ । त्यसका लागि चौथो बिबाह गर्ने सपना अल्लाहले साकार पार्नेमा उनी विश्वस्त छन् । यति धेरै सन्तानको नाम याद होला त ? उनी मुस्कुराउँदै जवाफ दिन्छन–किन नहुनु र । यो अनौठो विषय यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । जो कोहीको ध्यान यसतर्फ मोडिएको छ ।
खिलजी ६०औं सन्ताको बुबा भएको खवर सबैभन्दा पहिला माइक्रो ब्लगिङ साइट ट्वीटरबाट सार्वजनिक भएको थियो । त्यसपति एकाएक भाइरल बन्न पुग्यो । खिलजीले आफ्नो अनौठो इच्छा पूरा गर्न साथीहरूको सहयोग पनि मागेका छन् ।
उनी छोराभन्दा धेरै छोरी जन्माएर आफ्नो सम्पूर्ण परिवारलाई एउटै घरमा राख्न चाहन्छन् ।
पाकिस्तानमा मुस्लिम पुरुषले बहुविवाह गर्न पाउँछन् तर, अर्को विवाह गर्न चाहने पुरुषले पत्नीको अनुमति लिनुपर्छ भने एक पटकमा चारवटी पत्नी राख्न मिल्ने त्यहाँको प्रावधान छ ।
देशमा मुद्रास्फीतिको स्तरमा भएको वृद्धिले खिलजीलाई आर्थिक रूपमा पनि निकै असर गरेको छ । तर, पनि उनी आफ्नो ईच्छा पुरा गर्न चाहन्छन् । उनको व्यवसाय ठप्प भएको र पिठो, घिउ, चिनी लगायत सबै आधारभूत कुराको मूल्य तीन गुणाले बढेको कारण उनलाई जिविको पार्जन गर्न निकै सकस भइरहेको छ ।
मुल्यवृद्धिले धेरै सन्तानको पालनपोषणमा चुनौती थपिदिएको छ । त्यसैले उनले छोराछोरीको पढाइ र जीविकोपार्जनका लागि सरकारसँग माग गरेका छन् । विभिन्न पक्षसँग सहयोग जुटाएरै भए पनि उनी अझै थप बच्चा जन्माउने योजनामा छन् ।
खिलजी फुर्सदको समयमा आफ्नो परिवारसँग घुम्न मन पराउँछन् ।
तर, त्यसका लागि साइकल, मोटरसाइकल वा ट्याक्सीले पुग्दैन । ठूलै गाडी चाहिन्छ । सरकारले हेभी बस दिने र आफ्नो सबै बच्चालाई एकसाथ पाकिस्तान घुमाउने उनको सपना छ । यति मात्रै होइन, धेरै बच्चा भएकाले सरकारले भत्ता दिएर जीवनयापनमा सहयोग गर्नुपर्ने माग पनि उनको छ ।
खिलजी बलुचिस्तानमा धेरै सन्तानको बुबाको रूपमा भाइरल हुने दोस्रो व्यक्ति हुन् । यसअघि बलुचिस्तानको नुश्की जिल्लाका अब्दुल मजीद मेङ्गलले ६ वटा विवाह गरेर ५४ सन्तान जन्माएपछि चर्चामा थिए ।
प्रतिक्रिया