Breaking

माधव भित्र्याउने ओलीको तयारी, प्रचण्ड–बाबुराम एक भए, यसरी बन्दैछ वाम ध्रुवीकरण, सत्तामा मोर्चाबन्दी सुरु


काठमाडौँ— मंसिर ४ मा सम्पन्न निर्वाचनपछि सबै दललाई आफ्नो हैसियतले सुख दिएको छैन । सत्तादेखि सडकसम्म अरुको भर चाहिने अवस्थामा दलहरु छन् । ठिक यसैबेला पार्टी एकता र वाम ध्रुवीकरणको प्रयासले तीव्रता पाएको छ ।

एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीले अपमान गरे भन्दै माधवकुमार नेपालले पार्टी विभाजन गरेको एकबर्ष ४ महिना बित्यो । ओली नेतृत्वकै सरकार ढाल्न बल पुग्नेगरि २०७८ भदौ २८ मा माधवकुमार नेपालले पार्टी फोड्दै नेकपा एकीकृत समाजवादी बनाएपछि एमाले तेस्रोपटक विभाजनको मार खेप्न बाध्य बनेको थियो ।

तर त्यसयता सम्पन्न कुनै पनि निर्वाचनमा माधवले पार्टी विभाजनको औचित्य पुष्टि गर्न सकेनन् । २३ सांसद लिएर हिडेका माधव यो संसदीय निर्वाचनमा उधोगती लागेर १० सिट प्रत्यक्षमा जिते तर राष्ट्रिय दलको नेता बन्न सकेनन् । तथापी एमाले पहिलो बन्न सकेन । फलतः यी दुई पार्टीबीच अहिले पुनः एकताको चर्चा चलिरहेको छ ।

तर ‘अगाडी जाँदा भीर छ, पछाडी फर्किदा पीर छ’कै अवस्थामा रहेका माधवकुमार नेपाललाई एमालेसँग मिलिहाल्न नैतिक बल मिलेको छैन । किनकि ओली एकता नभई नेकपा एसलाई एमालेमै गाँभेर पहिलो शक्ति बन्ने तयारीमा छन् भने माधव एमालेमा विलय हुने मनसायमा छैनन् ।

फलतः उनी ‘नजाने गाउँको बाटो नसोध्नु’ भन्ने जवाफ दिइरहेका छन् । दुवैलाई एकअर्काको आवश्यकता खड्किएपनि अस्तित्व स्वीकार्ने संकट परेको छ । तर पछिल्लो समय माधवलाई पार्टी एकताको ढोका खुल्ला गरेका ओली लचिलो बन्न खोजिरहेका छन् ।

तर जसपासँग एकताको प्रयास गर्दै नेकपा एसले कार्यदल नै बनाएको छ । यी दुवै दलले विचार मिल्ने पार्टीबीच एकताको आवश्यक रहेको भन्दै कार्यदल नै बनाएर गृहकार्य थालेका हुन् । त्यसका लागि नेकपा एसबाट महासचिव बेदुराम भुसालले संयोजनको जिम्मा पाएका छन् भने जसपाबाट राजेन्द्र श्रेष्ठलाई वार्ताको नेतृत्व दिइएको छ । मुलतः प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि सबै दल ध्रुवीकरणको तयारीमा जुटेका छन् ।

सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच पनि एकता गर्दै ‘नेकपा समाजवादी’ बनाउने तयारी अघि बढेको छ । माओवादी हटाउने बाबुराम भट्टराईको प्रस्ताव र नेकपा राख्नैपर्ने प्रचण्डको अडानबीच नेकपा समाजवादीमा उनीहरुको सहमति जुटेको हो ।

योसँगै माओवादीले वृहत वाम एकताका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति नै बनाएको छ । निर्वाचनअघि एउटै समाजवादी केन्द्र बनाएर जान प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, वामदेव गौतम र उपेन्द्र यादवबीच पटक–पटक छलफल भएको थियो ।

तर एकताको टुंगो नलाग्दै निर्वाचनमा गएका दलहरु कसैले पनि अपेक्षाकृत परिणाम ल्याउन सकेनन् । बरु भित्तामा अचेट्ने हप्की खाएको एमाले दोस्रोसम्म बन्न सफल भयो । अहिले एमालेकै कित्तामा उभिएर प्रचण्ड प्रधानमन्त्री बनेपछि माधवसहितका नेताहरु विलखबन्दमा छन् ।

प्रचण्ड यी सबैलाई एक ठाउँमा ल्याएर मोर्चा कस्ने र शक्ति बढाएर एमालेसँग सन्तुलन मिलाउने तयारीमा छन् । त्यसअघि नै एकता गर्ने संकेत गरेका नेकपा एस र जसपा पनि २२ सांसद पु¥याएर संसदको चौथो शक्ति बन्ने गरि अघि बढेका छन् ।

सीके राउत नेतृत्वको जनमत पार्टी र जेलमा रहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीचको मोर्चाबन्दी पनि सत्तामा शक्ति बढाएर ठूलो भाग खोज्नु हो । किनकि अहिले सबैदल मुलतः बार्गेनिङ पावरको खोजिमा एकताको प्रयास गर्दै अघि बढेका छन् ।