Breaking

प्रचण्ड फकाउन देउवाका दूत बालुवाटार छिरे, सत्ता ढाल्न दुई प्रस्ताव, मेसो नपाएको गगन पुस्ता के गर्ला ?


काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिन सत्ता गठबन्धनभित्र व्यापक छलफल चलाएका छन् । तर विश्वस्त बनाइरहेका दलहरुको विश्वास गर्न सकिरहेका छैनन् । ठिक यतिनै बेला काँग्रेस प्रस्ताव बालुवाटार छिरेको छ ।

संसदको सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्षी कित्तामा धकेलिएको नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अघि दुई प्रस्ताव अघि सारेको छ । पहिलेकै गठबन्धनमा फर्किए प्रधानमन्त्रीमा समर्थन गर्दै विश्वासको मत दिने । दोस्रो, राष्ट्रिय सहमतिको सरकार बनाएर संवैधानिक पदमा भागबण्डा लगाए पनि विश्वासको मत दिएर सरकारलाई समर्थन जनाउने । यो प्रस्ताव काँग्रेसभित्र रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाहरुले जोडतोड रुपमा उठाइरहेका छन् ।

त्यसका लागि शुक्रबार काँग्रेस नेता सिटौला बालुवाटारमै पुगेर प्रधानमन्त्री प्रचण्डसँग प्रस्ताव गरेका थिए । देउवाकै सरसल्लाहमा सिटौला प्रचण्डलाई फकाउन प्रस्तावसहित आएको पुष्टि बालुवाटार स्रोतले गरेको छ । सिटौला तीनै नेताहरु हुन्, जसले भारत, काँग्रेस र माओवादीको संयोजनमा पटकपटक नतिजा निकाल्ने गरि सुत्राधारको काम गर्दै आएका छन् ।

प्रचण्डले काँग्रेसभित्र विश्वास गर्ने पात्र नै सिटौला हुन् । तीनै सिटौलाले पुस १० मा ओली–प्रचण्ड मिल्दै गरेको सुराकी देउवालाई दिएका थिए । तर मुल राजनीतिको मेसो नै नपाएको गगन थापा पुस्ताले यो सरकारको खिलापमै उभिने र खरो प्रतिपक्षमा बस्ने स्पष्टोक्ति दिइरहेको छ ।

पहिलो चरणमा नेपाली काँग्रेसले राप्रपा र जसपालाई मनाएर सरकार ढाल्ने खेल नचलाएको होइन । तर यी दुई दल आउँदैमा सत्ताको पासा पल्टिने सम्भावना संकटमा देखिएपछि देउवा ब्याक हटे । बरु प्रचण्ड फेरि फर्किएर आए विश्वासको मत दिन देउवा तयार छन् ।

तर प्रचण्डलाई हतियार बनाएर ओलीले चलाएको बज्रबाट बर्बराएका देउवाले महादेवका त्रिनेत्र खोलेर आफ्ना स्वदेशी विदेशी दूतहरुको टेको लिइरहेका छन् । तर पनि ओलीको तगारो पन्छ्याउन हम्मेहम्मे परेको छ । यता प्रधानमन्त्री प्रचण्ड गठबन्धनभित्रै सहमति जुटाएर विश्वासको मत लिनेमा विश्वस्त छन् ।

सत्ता गठबन्धनभित्रका दलहरुबीच प्रचण्डलाई विश्वासको मत दिनेमा लगभग सहमति जुटेको छ । त्यसका लागि प्रचण्डको बलियो सारथी बनेर उभिएका ओलीले चलखेलको गन्ध पनि नजिक पर्न दिएका छैनन् ।

तथापी ४ सिटे नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्षमा बस्ने जानकारी संसदलाई गराएको छ । तर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी सँगसँगै उभिएर विश्वास दिलाइरहेकाले प्रचण्ड विश्वस्त देखिन्छन् ।