देश

राजनीतिमा भ्रष्टाचारी र अपराधी धेरै भएको डा केसीको आरोप


काठमाडौँ— निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलमा विरोध प्रदर्शन भएको छ। आज महिला अधिकारकर्मीहरूले माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रूपमा सरकार खोज्दै विरोध प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनका क्रममा उनीहरूले महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यू महिलाहरू सुरक्षित हुने कहिले, महिलाको बाँच्न पाउने अधिकार खो‍इ, के महिला एकल हुनु पाप हो लगायतका प्लेकार्ड बोकेर सांकेतिक विरोध जनाएका थिए।

विरोध कार्यक्रममा बोल्दै डा गोविन्द केसीले अपराधीलाई कारबाही गर्ने भनेको १ वर्ष बितिसक्दासमेत सरकारले अपराधीलाई अनुसन्धानको कठघरामा समेत उभ्याउन नसकेको बताए। उनले देशमा अपराधीको स्थान कहाँ हो भन्दै सरकारसँग प्रश्नसमेत गरेका छन् ।

डा केसीले ‘कारबाही गर्ने भनेको १ वर्ष भइसकेको तर अहिलेसम्म अनुसन्धानका लागि कठघरामा समेत नलगेको उल्टो टिकट दिएर सांसद बनाएको आरोप लगाएका छन् ।

अपराधीलाई कारबाही गर्ने ठाउँमा सांसद बनाउने भनेपछि अपराधीको स्थान कहाँ हो, पार्टीमा हो कि जेलमा हो, अपहरण गरेर मार्ने देखेका मान्छेहरूले भन्दाभन्दै टिकट दिएर सांसद बनाइन्छ भने त्योभन्दा बढी राजनीतिको भ्रष्टीकरण र अपराधीकरण अरू के हुन्छ। राजनीतिमा शुद्धीकरण हुनुपर्छ। राजनीति भ्रष्टीकरण र अपराधीकरण गर्नेहरूको छ लगायतको आरोप लगाएका छन् ।

विरोध प्रदर्शनमा महिला अधिकारकर्मी रुबी खानले सरकार आफूले गरेका वाचा र प्रतिवद्धताबाट बारम्बार पछि हटिरहेको र अपराधीलाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रहसमेत गरिन्।

आन्दोलनकारी महिला अधिकारकर्मीहरूले सरकारले निर्मला कुर्मीका अपराधीलाई कारबाही नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। उनीहरूले आज (आइतबार) माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रूपमा सरकारको खोजी गरेका थिए।

अपहरण तथा शरीर बन्धक गरी हत्यासम्बन्धी घटना छानबिन गर्न सरकारले बनाएको छानबिन समितिले आरोपितहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएको थियो। तर प्रहरीले घटनाका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छैन ।