Breaking

माओवादी केन्द्र र नेसपा एकताको तयारी पूरा


काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरूबीच शनिबार भेटवार्ता भएको हो । भेटमा दुई पार्टीबीच एकता, यही पुस २६ गते सरकारलाई विश्वासको मत दिने र प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको (नेसपा) का नेता गङ्गानारायण श्रेष्ठले जानकारी दिए । नेता श्रेष्ठका अनुसार माओवादी केन्द्र र नेसपाबीचको पार्टी एकताको तयारी पूरा भएको छ ।

सात वर्षअघि माओवादी पार्टीको वरिष्ठ उपाध्य रहेका भट्टराईले विसं २०७२ असोज ९ मा माओवादी छाडी आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाउँदै अहिले नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष बनेका छन् । नेसपाले ४ मङ्सिरमा भएको प्रतिनिधिसभा चुनाव माओवादी केन्द्रकै चुनाव चिह्नबाट लडेको थियो ।

शनिबार भएको दुई पार्टीका अध्यक्षहरूको भेटपछि पार्टी एकताको वार्ताको निम्ति कार्यदल बनाएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको थियो । सोहीअनुसार माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत् वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेतसहित वार्ता टोली बनाएको छ । नेसपाले भने आज राजनीतिक समितिको बैठक राख्दै छ ।