Breaking

ठक्कर खाएको काँग्रेस अक्करमा, लिङ्देन बने प्रचण्ड–देउवाको प्रयोग मात्र, के गर्ला अब काँग्रेस ?


काठमाडौँ — प्रचण्ड नेतृत्वको सरकार बन्दा सबैभन्दा ठूलो धक्का खाएको दल हो नेपाली काँग्रेस । सत्ता गुमेको अकल्पनीय परिस्थीतिमारुमल्लीएको काँग्रेसले दुर्घटनाको समीक्षा पनि गरेको छैन ।र आगामी कदमबारे स्पष्ट पनि देखिएको छैन । तेस्रोलाई पहिलो बनाएपछि पहिलो शक्ति प्रतिपक्षमा बस्न काँग्रेसले हिम्मत जुटाउन सकेको छैन । फलतः गठबन्धनभित्रका दलहरुको एकएक छिद्र हेरिरहेको काँग्रेसले ‘झर्ला र खाउँला’कै शैलीमाआकाश तिर हेरिरहेको छ । त्यसका लागि काँग्रेस सभापति देउवाले संसदको पाँचौं शक्ति राप्रपालाई प्रधानमन्त्रीकै अफर गर्न भ्याएको चर्चा छ । जबकि त्यो सम्भव नै छैन ।

प्रचण्डले विश्वासको मत नपाउने वित्तिकै ठूलो दलको हैसियतले देउवानै प्रधानमन्त्री बन्छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनसम्म विश्वासको मत नपाएमात्रै संसद्को अर्काे कुुनै सदस्यले विश्वासको मत पाउने सर्तमा प्रधानमन्त्रीमा दाबी गर्ने हो । तर संवैधानिक व्यवस्था नै विर्सेर देउवाले लिङ्देनलाई प्रधानमन्त्री बनाइदिन्छु भनेपछि धेरैले पत्याए, लिङ्देन पनि देउवाकै दैलोमा पुुगेर दाउ खोज्न थाले । तर यता सरकार गठनको प्रक्रिया बुुझेकाहरु लिङ्देनलाई मात्र प्रयोग भएको देखेर हलुका टिप्पणी गरिरहेका छन् । अहिले लिङ्देन पनि देउवाको कमजोर प्रस्तावमाथि सयर गर्ने मुुडमा नभएको राप्रपाका नेताहरुको मत छ ।

तर प्रचण्डको सत्तारोहणपछि यता सत्ताको सबै गुमाएको काँग्रेस अक्करमा परेको छ । अहिलेकै गठबन्धन कायम रहे आगामी पाँचबर्षपछि पनि सरकारमा आउने सम्भावना सहज छैन । फलतः अहिले नै सत्ता भत्काएर यसलाई झांगिनदिने पक्षमा देउवा देखिँदैनन् ।देउवालाई अरु दलकै नेतृत्वभए पनि स्वीकार्न लगाएर पनि सरकार ढाल्नुपर्ने दबाब दोस्रो तहका नेताहरुदिइरहेका छन् । किनकि आगामी महाधिवेशनपछि देउवालाई नेतृत्वमा रहन विधानले दिनेछैन ।

त्यसपछि सरकारको नेतृत्वमा आउने सम्भावना पनि नहुनसक्छ । तरओली–प्रचण्डबीच फाटो ल्याएर सत्तामा खेल्न नसके काँग्रेस दोस्रो पुुस्ताका नेताहरुले सत्ताको अवसर गुमाउनेछन् ।जसकैकारण आगामी पाँचबर्षअघि नै गठबन्धन भत्काएर शक्ति फर्काउने संकटमा नेताहरु परेका छन् । र प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको खिलापमा उभिने स्पष्ट पारेका छन् ।

प्रचण्डलाई प्रधानमन्त्री मान्न नसक्दा काँग्रेसले राष्ट्रपति, सभामुख र केन्द्रदेखि प्रदेश सरकार सम्मको हिस्सागुमाएको छ । जनमतमा पहिलो रहँदारहँदै पनि सत्ता गुमाउनुको पीडाले काँग्रेस शोकमा डुबेको छ । फलतः नेताहरु जुनसुकै सौदाबाजी होस्, तर सत्ताको स्वाद नभई हुँदैन भन्ने पक्षमा उभिएका छन् । देउवा पनि सांसदहरुलाई सक्रिय भूमिका खेल्न दबाब दिइरहेका छन् ।अब काँग्रेसले संसद र सडकमा सत्ता ढाल्नका खातिर कुन तहको रुप देखाउँछ ? त्यसले बाँकी राजनीतिक दृश्यहरु तय गर्नेछ ।