Breaking

रविको निर्देशनमा १५ मिनेटमै हातमा नागरिकता, लाइन हटेकोमा नागरिक खुशी, सरकारी निकाय बन्यो चुस्त


काठमाडौँ — नेपालमा हरेक सरकारी कार्यालयबाट सेवा लिँदा दिनै बित्ने परम्परा छ । तर, अहिले काठमाडौ जिल्ला प्रशासनले टाइम कार्ड लागू गरेपछि भने त्यो परम्पराको अन्त्य हुने संकेत देखिएको छ । सात दलीय सत्ता गठबन्धनले गठन गरेको कार्यदलले सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम तयार गरेको छ ।

जसको पहिलो प्राथमिकतामा नै नागरिकताको विषय उठान गरिएको छ । कुनै पनि नेपाली नागरिकले नागरिकता प्रमाणपत्र पाउनबाट र नागरिकता उपभोग गर्नबाट वञ्चित हुन नपरोस् भनेर सुनिश्चित गर्ने उद्देश्यले प्राथमिकतामाराखिएको नागरिकता लिन सहज बनाउन सरकारले एक दिन अघिमात्रै टाईम कार्डको पनि लागू गर्याे छ । जसका कारण अब सबै कागजात पूरा भएको खण्डमा घण्टौसम्म लाईनमा नै बस्नु पर्ने परम्पराको अन्त्य हुने आश गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकता लगायत १० थरीका सेवामा टाइम कार्ड लागू गरेको हो । जसबाट नागरिकले छिटो र छरितो सेवा पाउने छन् । आवश्यक कागजात पुगेको अवस्थामा १ घन्टाभित्र सेवाग्राहीले नागरिकता र नाबालक प्रमाणपत्र पाउनेछन् भने संस्था नविकरण र मुद्धाको पेशी तारेखको काम ३० मिनेटमा सम्पन्न हुनेछ ।

यसअघिका निर्देशन र निणर्यहरु कागजमा मात्रै सीमित हुने गरेका कारणले पनि गृहको यो निर्णय कार्यान्वयन हुनेमा शंकैशंका थियो । तर, निर्णय गरेको भोली पल्टैबाट कार्यान्वयनमा आउँदा नागरिकता लिन प्रशासान पुगेकाहरु पनि हर्षित देखिन्थे । प्रशासनले १ घण्टाको समय दिएको भए पनि सेवाग्राहीले समय अवधि भन्दा पहिल्यै नागरिकता आफ्नो हातमा पाएका छन् ।

टाइम कार्ड लिनका लागि सेवाग्राहीले पहिले आवश्यक कागजातको प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ । सबै कागजातहरू पूरा भएको छ वा छैन सेवा दिनको लागि उपयुक्त हो वा होइन, त्यो सबै हेरिसकेपछि मात्रै प्रशासनले टाइम कार्ड उपलब्ध गराउँछ । कम्तीमा राहदानी विभागमा पहिलो गाँसमा नै ढुंगा भेटेको सरकार जिल्ला प्रशासन कार्यालयमा भने सफल देखिएको छ ।

तर, पछिल्लो समय गृहमन्त्री आफै नागरिकताको विषयलाई लिएर कठघरामा उभिरहँदा सेवाग्राहीले भने प्रत्येक कोठाको झ्यालैपिच्छे पटक पटक लाईन बस्ने परम्पराबाट छुटकारा पाएका छन् । नागरिकता जस्तो पेचिलो मुद्धामा फसेका उनकै पहलमा नागरिकता लिन सहज त भएको छ । तर, न्यायको कठघरामा उभिएका गृहमन्त्री लामिछाने आफै भने नेपाली हुन् कि होइनन् भनेर सर्वाेच्चको निर्णय पर्खाइमा छन् ।