खेलकुद

टी ट्वान्टी सिरिजमा श्रीलंकाको जित


काठमाडौँ— घरेलु टोली भारतविरुद्धको दोस्रो टी ट्वान्टी खेलमा श्रीलंकाले जित हात पारेको छ । पुणेमा बिहीबार राति भएको खेलमा श्रीलंकाले भारतलाई १६ रनले पराजित गरेको हो ।

जितसँगै ३ खेलको सिरिज १ १ को बराबरीमा पुगेको छ । पहिलो खेल भारतले भने २ रनले जितेको थियो । बिहीबार राति २ सय ७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९० रन मात्र जोड्यो ।

भारतका लागि अक्सर पटेलले ३१ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ६५ रन बनाएपनि जितका लागि पर्याप्त भएन । सुर्यकुमार यादवले ५१ तथा शिवम माभीले २६ रन बनाए । भारतलाई रोक्न श्रीलंकाका डासुन सिल्भा, कासुन रजिथा तथा दिलसान मडुसन्काले समान २ २ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेट गुमाउँदै २ सय ६ रन बनायो । श्रीलंकाका लागि कप्तान डासुन शनकाले २२ बलमा २ चौका र ६ छक्काको मदतमा अविजित ५६ रन बनाए ।

कुशल मेन्डिसले ५२ रनको योगदान गरे ।
भारतका लागि उमरान मलिकले ३ तथा अक्सर पटेलले २ विकेट लिए ।