Breaking

राहदानी वितरणको काम अवरुद्ध


काठमाडौँ — राहदानी लिनका लागि भीडभाड बढिरहँदा परराष्ट्र मन्त्रालयले राहदानी वितरणको काम अवरुद्ध गरेको छ । पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आएको भन्दै राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको जनाएको छ । राहदानी विभागले यस्तो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सञ्चालन हुन केही समय लाग्ने भनेको छ ।

विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, आजको मितिदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि माथि उल्लेखित सेवा लिनको लागि विभागमा उपस्थित नभइदिनु हुन सादर अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति राहदानी विभाग क्षमाप्रार्थी छ ।

साथै, नियमित रूपमा राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीहरूलाई बुक गरेको मितिमा बायोमेट्रिकका लागि विभागमा उपस्थित हुन पनि विभागले आग्रह गरेको विभागका निर्देशक दुरपदा सापकोटाले बताएकी छन् । पछिल्लो समय राहदानीका लागि फारम बुजाउने र राहदानी लिनका लागि विभागमा मानिसहरूको भीड अत्यधिक बढिरहँदा विभागको सिस्टममा समस्या देखिएको हो ।