काठमाडौँ— गृहमन्त्री रवी लामिछाने यस्ता व्यक्ति हुन् जो हरेक समय चर्चामा नै छन्, चाहे त्यो सकारात्मक होस् या नकारात्मक । सञ्चारकर्मदेखि गृहमन्त्रीसम्मको यात्रा तय गरेका उनको चर्चा यतिखेर पनि शिखरमा छ । नेपालमा भर्खरै नयाँ सरकार गठन भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठनपछि सबैभन्दा बढी चर्चाको केन्द्रमा प्रधानमन्त्री नै हुनु पर्ने हो । तर, यतिखेर प्रधानमन्त्री भन्दा पनि हालका उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले सबैको ध्यान तानेका छन् । नागरिकता विवाद उत्कर्षमा हुँदै गर्दा गृहको भार सम्हालेका मन्त्री लामिछानेमाथि नैतिकताको प्रश्न पनि उठिरहेको छ । अरुलाई नैतिकताको पाठ सिकाउने हालका बाहालवाल गृहमन्त्री आफैले भने कतै नैतिकता भुलेकि भन्ने आवाज पनि उठेरहँदा उनको नियुक्तीमा पूर्व गृहमन्त्री, प्रहरी प्रशासक र गृहमा डेढ दशकभन्दा बढी काम गरिसकेका नेपाल सरकारका पूर्व सचिवहरुले नै आपक्ति जनाएका छन् ।
कानुन अनुसार कोही कसैले स्वार्थ बाझिने जिम्मेवारी लिन नहुने भन्ने छ । तर गृहमन्त्री लामिछानले भने अनुसन्धानमा नै शंका गर्न मिल्ने गरि गृह मन्त्रालय सम्हालेपछि यो विषयले कस्तो मोड लेला भन्ने चासो बढेको छ । नेपाली बोलीचालीको भाषामा भन्ने हो भने गृहमन्त्री ‘आफ्नै हात जगन्नाथ’ को शैलीमा छन् ।
त्यसो त गृहमन्त्रीले आफ्नो विषयमा निष्पक्ष छानविन गर्न कुनै रोकटोक नगर्ने बताए पनि त्यो सम्भव नै नहुने पूर्वप्रहरीहरु बताउँछन् । प्रहरीको काम गृहको आदेश मान्ने हो । गृहले जे भन्छ त्यही नै ग्राउण्डमा देखिन्छ । यस्तो अवस्थामा गृहमन्त्रीकै मुद्धामा निष्पक्ष छानविन हुनेमा धेरै आशंका गर्ने ठाउँ उनैले छोडेका छन् ।
मन्त्री हुनुभन्दा अघिदेखि नै नागरिकताको विषयलाई लिएर विवाद खडा भइरहँदा रविले गृह रोज्नु नीतिगत रुपमा नै गलत छ । एक त मन्त्री हुन नै नैतिकता बेगर छ भने, मन्त्री नै बने पनि गृहबाहेक अन्य रोज्ने अवसर उनलाई थियो । कानुनी र नैतिकताको प्रश्न उठाईरहने मन्त्रीविरुद्ध अदालतमा मुद्धा चलिरहँदा छानविन सकिसकेपछि गृह लिँदा उपयुक्त हुने जनाकारको बुझाई छ ।
यसमा मन्त्री हुनेको भन्दा पनि बढी मन्त्री बनाउनेको गल्ती देखिन्छ । सत्ता स्वार्थमा लिप्त राजनीतिज्ञहरु कुर्सीका लागि कानुन लत्याउन माहिर छन् । उनीहरुमा नैतिकताको यति धेरै खडेरी परेको छ कि हेमन्त र शिशिर ऋतुमा बसन्तको झै हरियाली खोज्नु सरह बनेको छ । सत्ताको फोहोरी खेल खेल्ने शीर्ष नेताहरु सत्ता बाहिर बस्ने डर र आफ्नै स्वार्थका कारण तै चुप मै चुपमा बस्दा उनीहरुका हरेक निर्णय र नियुक्ति स्वीकार्न नेपाली बाध्य छन् ।
प्रतिक्रिया