Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

किसानदेखि अरवपतिसम्मलाई प्यारो लाग्ने ढाका टोपी, महिला पनि टोपीका शोखिन, पोशाकमा प्रचण्डले ल्याएको नयाँ शैलि


काठमाडौँ— आज काठमाडौंको हनुमानढोका क्षेत्रमा नाचगान सहित भेला भएर १० औं अन्तर्राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाईएको छ । व्यक्तिको परिचय नागरिकता भए जस्तै राष्ट्रको परिचय ढाका टोपी भएकोले आजका दिन अन्तर्राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाईन्छ ।

गोपाल योञ्जनको गीतझै ढाका टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्दछ । बीचको भिरालो भागले पहाडको प्रतिनिधित्व गर्छ र सवैभन्दा तलको समथर भागले तराईको प्रतिनिधित्व गर्छ भन्ने व्याख्या साहित्यकारहरुले गर्दछन् । आज अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन जनवरी १ का दिन ‘राष्ट्रिय नेपाली टोपी दिवस’ पनि मनाउने गरिन्छ । नेपाली शब्दकोषका अनुसार ‘शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नका निम्ति चुलो र घेरा हाली सिइएको वस्त्रलाई टोपी भनी भनिन्छ ।

ढाका टोपीलाई मात्रै नेपाली टोपी भनिन्न । नेपालभरि लगाइने सबै प्रकारका टोपीहरू जस्तै भादगाउँले टोपी, नेपाली टोपी, आदिकवि भानुभक्तले लगाउने बिर्के टोपी, मैथली आदिकवि विद्यापतिले लगाउने विद्यापति टोपीलगायत नेपालका विभिन्न जातजातिले प्रयोग गर्दै आएका टोपीहरू नेपाली टोपीको रुपमा परिचित छन् । के सडकमा मागी हिँड्ने, के ज्याला मजदुरी गर्ने, के शहरमा कसिलो दौरा सुरुवालमा ठाँटीने, सबैको शीरमा ढाका टोपी उत्तिकै सुहाउँछ ।

पछिल्लो समय त प्रधानमन्त्री पुष्पकमल दाहालले पश्चिमा सस्कृती मानिने सुट पाइन्टमा पनि नेपाली टोपी ढल्काएर पोसाकमा बदलाब ल्याएका छन् । वास्तवमा नेपालमा टोपी लगाउन कहिलेदेखि सुरु भयो वा यसको विकासक्रम के हो भन्ने जानकारी कहींकतै पनि पाइँदैन । तर १० वर्ष पहिले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय पोसाक दौरा सुरुवाल र नेपाली टोपी नै खारेज गरिदिएपछि मानिसहरुले स्वस्फूर्त टोपी दिवस मनाउन थालेका थिए । जुन अहिलेसम्म निरन्तर छ र अझै फैलिँदो क्रममा छ । आजकाल त विवाह भोज र औपचारिक पारिवारिक कार्यक्रमहरुमा पनि दौरा सुरवालको आकर्षण बढेको छ । नेपाली टोपी दौरा सुरुवाल मात्रै होइन नेपालीले लगाउने हरेक पोसाकमा सुहाउँछ ।

हरेक वर्ष अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस नेपालका मुख्य शहरका साथै विश्वका ८० भन्दा बढि मुलुकमा छरिएका नेपालीहरुले आ–आफ्नो अनुकूलता अनुसार टोपी दिवस मनाउने गरेका छन् । यसलाई थप व्यवस्थित बनाउन राज्यले पहल लिनु पर्ने संस्कृती संरक्षण अभियन्ताहरुले जोड गरेका छन् । नेपाली टोपी चलन चल्तीको पोषाकमा पुरुषले लगाउने पोषाकमा पर्दछ । तर दिवसका दिन महिलाहरुले समेत बढो रहरका साथ नेपाली टोपी ढल्काएर तस्वीर लिने र खुसी साटासाट गर्ने गरेका छन् ।

के पुरुष, के महिला हरेकको शीरमा नेपाली टोपी उत्तिकै आकर्षक देखिन्छ । गोपाल योञ्जनको गीतले भने झैँ नेपाली टोपीले हिमाल पहाड र तराईलाई मात्रै जोडेको छैन यसले हरेक समूदाय र जात विशेष छरिएका नेपालीहरुलाई जोड्न सफल भएको छ ।