Breaking

अंग्रेजी नयाँ वर्षमा ओलीको सन्देश : मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढ्यो


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।

नयाँ वर्ष सन् २०२३ को उपलक्ष्यमा आज जारी शुभकामना सन्देशमा उनले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताएका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्शालाई पूरा गर्न चाहन्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सबै आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनुदित गर्न चाहेको बताएका छन् ।

समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गर्दै उनले त्यसका लागि आ–आफ्ना ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल र पक्षहरूसँग आग्रह गरेका छन् ।

‘व्यक्ति र समूहका निजी दुराकाङ्क्षहरूले सिर्जना गर्न सक्ने अवरोधलाई पन्छाउँदै मुलुक निर्माणको प्राथमिकतामा केन्द्रित हुन सबैलाई आग्रह गर्दछुु, उनले जारी गरेको सन्देशमा भनिएको छ ।

समृद्ध नेपाल र सुखी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने यस बाटोमा सबै पेसा, क्षेत्र, वर्ग र समुदायको साथ रहने छ भन्ने अपेक्षा उनको रहेको छ ।