Breaking

प्रचण्डबिनाको कांग्रेस छटपटीमा,गगन–विश्वप्रकाश मेलमिलाप, देउवाले गुमाए साख, वीपीको नीति गायव


काठमाडौँ — नेपाली काँग्रेसले २०३३ पुष १६ यताका प्रत्येक बर्षहरुलाई ‘राष्ट्रिय एकता र मेलमिलाप’का रुपमा मनाइरहेको छ । तर काँग्रेसभित्रै सबैभन्दा बढी कलह र अन्तरविरोध देखिन्छ । जुन अहिले सरकार गुमेपछि चरम विन्दुमा छ । २०१७ साल पुस १ गते बिश्वेश्वसरप्रसाद कोइराला प्रधानमन्त्री भएकै समयमा राजा महेन्द्रबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने काम भयो । अनि पहिलो जननिर्वाचित प्रधानमन्त्रीबीपीलगायतका नेतालाई थुनियो । त्यसको ८ वर्षपछि २०२५ कात्तिक १४ गते रिहाइ भएका बीपी सहकर्मीसहित भारत पलायन भए ।

त्यसको अर्काे ८ वर्षपछि २०३३ साल पुस १६ गते उनी आफ्ना साथीहरु गणेशमान सिंहसहित शैलजा आचार्य, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थी र खुमबहादुर खड्कालाई साथमा लिएर राजासँग विद्रोह होइन, मेलमिलाप गर्नुपर्छ भन्ने नीति लिएर स्वदेश फर्किए । त्यसै वर्षदेखि पुस १६ लाई नेपाली काँग्रेसले राष्ट्रिय मेलमिलापका रुपमा मनाउँदै आएको छ ।आफ्नो र राजाबीच सहयात्राको प्रस्ताव नै वीपीको ‘राष्ट्रिय मेलमिलाप’ थियो ।

राजासँग मुठभेढ नगर्ने तर व्यवस्था पनि स्वीकार नगर्ने नीतिका साथ उनी स्वदेश फर्किएका हुन् । जसको सन्देश अन्य दलले समेत अहिलेसम्म स्वीकार गरेका छन् । तर तीनै वीपीको पार्टी काँग्रेसभित्र अहिले सबैभन्दा बढी विमेल छ । सभापति शेरबहादुर देउवा एउटा बाटो हिड्न खोज्दा दुईमहामन्त्रीहरु त्यसलाई भत्काएर अर्काे बाटो हिड्न खोजिरहेका छन् ।

शनिबार जारी विज्ञप्तिमा दुईमहामन्त्रीबीच गजबैको मेलमिलाप देखियो ।महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमापार्टीभित्रका कमजोरीमा ढाकछोप नभई खुला छलफल हुनुपर्नेमा उनीहरु एक स्वर देखिए । तर मंसिर ४ को निर्वाचनमा काँग्रेस पहिलो दल भएर पनि सत्ता गुमाउनुको दोष भने सभापति देउवामाथि नै केन्द्रीत गर्न खोजिएको छ ।

सत्ता गुमेपछि अलापविलापमै सीमित बनेको नेपाली काँग्रेसले त्यसयता अबको कार्यदिशाबारे छलफलसमेत गरेको छैन । अहिलेसम्म दुबै समूह एकअर्काेमाथि चर्काे आलोचना र दोषारोपणलाई प्रमुख बनाइरहेको छ ।बालुवाटारमा सत्ता गुमेको पीडाले उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाशशरण महतबीच हातहालाहालकै अवस्था बनेको विषय एकाएक सतहमा छ । तर यसमा व्यापक चर्चा भएपछि दुबैले स्पष्टीकरण दिँदै अस्विकार गरेका छन् ।

यद्यपी यस्तो अवस्था आउनुमा नीतिविधि सबै छोडेर चल्ने नेतृत्व र वीपीकै अस्तु बेचेर खाने परिपाटीको उपज हो भन्ने सबैले विर्सिएका छन् ।वीपीलाई भजाएर खान स्वयंम् कोइराला परिवार र पुत्र शशांक पनि पछि हटेका छैनन् । वीपीको त्यो काँग्रेस हेर्दा अहिलेको यो काँग्रेस मात्र नामको छ । तैपनि पुष २२ मा केन्द्रीय समिति बैठक बोलाएको काँग्रेसले केही न केही निष्कर्ष निकाल्ने विश्वास गर्न सकिन्छ । के त्यसले वीपीको नीतिलाई भजाउने, भाषणमा मिठास थप्नेमात्रै नभएर काँग्रेसको कलह मिलाउँदै राष्ट्रलाई कसिलो एकतामा बाध्ने काम गर्न सक्ला?